कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानी गर्न वाह्य लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । नेपालमा लगानीका क्षेत्र बढ्दै गएको र लगानी सहज बनाउनका लागि कानून निर्माण भइरहेको भन्दै उनले यी क्षेत्रमा लगानीका लागि आह्वान गरेका हुन् ।
सोमबार राजधानीमा सुरु भएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) को ३७ औं सम्मेलनलाई उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लगानीको अवसर र प्रतिफलका हिसावले नेपाल आकर्षक रहेको धारणा राखे । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरु सदस्य रहेको संस्था हो । दुई दिनसम्म चल्ने सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरुको सहभागिता रहेको आयोजक नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
‘आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेका छन्,’ राष्ट्रपति पौडेलले भने । उनले नेपाली विद्युतको बजार भारत र बंलादेश पनि बन्दै गरेको स्मरण गराउँदै नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न सबैलाई आह्वान गरे । ‘विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खुलेको छ,’ उनले भने ।
नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुने व्यापारका लागि रणनीतिक फाइदा भएको उल्लेख गर्दै राष्ट्रपति पौडलले यसबाट ति मुलुकको बजारमा पहुँच स्थापित गर्न सहज हुने धारणा राखे । सार्क र बिमस्टेकलगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्ने उनको भनाइ छ ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको उल्लेख गर्दै खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको धारणा राखे । युवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मन्चहरुमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताए । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई निजी क्षेत्रका छाता संगठनले समेत सहयोग गर्ने भएकाले ढुक्कले लगानी गर्न उनले आग्रह गरे । नेपालमा व्यावसायिक अवसर धेरै भएको भन्दै विदेशी लगानीकर्ताले प्रतिफल प्राप्त गर्न सक्ने उनको दावी छ ।
जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा ढुक्क भएर लगानी गर्न सकिने उल्लेख गर्दै अर्थमन्त्रीले भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रतिबद्धता गरेको भन्दै लगानीका लागि जलविद्युत उपयुक्त क्षेत्र भएको बताए । यस्तै बंगलादेशले पनि विद्युत खरिद गर्न चासो देखाइरहेको अवस्थामा जलविद्युतमा गरिने लगानीमा प्रतिफल सुनिश्चित गरेको महतको भनाइ छ ।
बजेटमार्फत सूचना प्रविधि क्षेत्रमा आयकर घटाइएको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्नलाई ‘वान डोर विन्डो’ सञ्चालनमा रहेको र ठूला लगानीलाई सहयोग गर्न लगानी बोर्ड नै सञ्चालनमा रहेको बताए । आगामी फेब्रुअरीमा लगानी सम्मेलन आयोजनाका लागि सरकार जुटेको जानकारी दिँदै उनले भने,‘विश्व बैंक र एडिबीले नेपालका दुई जलविद्युत आयोजनामा लगानीको तयारी गरिरहेका छन् । यसबाट नेपाल लगानीको केन्द्र रहेको पुष्टि हुन्छ ।’ उनका अनुसार ग्रीन बन्डलगायतमा फाइनान्सिङ औजारहरुमा समेत लगानी गर्न मिल्ने गरि नेपाल सरकार अघि बढेको छ ।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा, पर्यटन, कृषि प्रशोधन, आइसिटी, औषधि र जडीबुटी क्षेत्रमा लगानी बढाउन एसिया–प्रशान्त क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरे । नेपाली अर्थतन्त्रले ठूला प्राकृतिक प्रकोप र विश्वव्यापी आर्थिक धक्कालाई थेगेर वृद्धितर्फ उन्मुख रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले आत्मविश्वासका साथ लगानी बढाउन सकिने समय आएको बताए ।
पर्याप्त विदेशी मुद्रा सञ्चिति र बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेकाले लगानीकर्ताहरुका लागि जोखिम कम हुँदै गएको पनि अध्यक्ष ढकालले उल्लेख गरे । नेपालको जलविद्युतलाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णय र बंगलादेशको आर्थिक वृद्धिले जलविद्युतको प्रचुर बजार सृजना भएको उल्लेख गर्दै अध्यक्ष ढकालले जलविद्युत परियोजनामा लगानीका अवसर छोप्नु पर्ने समय आएको बताए ।
विश्वस्तरीय होटेल र विमानस्थल लगायत पर्यटन पूर्वाधार बनिसकेकोले पर्यटन बजारले थप निजी लगानी खोजिरहेको पनि अध्यक्ष ढकालको भनाइ छ । बढ्दो पर्यटन बजारका लागि केबलकार, रिपोर्ट, थिम पार्क, हिल स्टेसन र ठूला होटेललगायतका पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।
यस्तै, नेपालले निर्यात बजार विस्तार गरिरहेको र विभिन्न मुलुकहरूसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले निर्यात केन्द्रित लगानी बढाउन पनि उनको सुझाव छ । महासंघले लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन लगानीकर्ताहरुलाई सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।
क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले दीगो एवं वातावरणमैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुुभव आदान प्रदान गर्न सम्मेलन ऐतिहासिक हुने दावी गरे । क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एमले क्यासीको ३७ औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उनको भनाइ छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यको लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गरे । सम्मेलनले दिने निष्कर्ष नेपाल लगायत एशिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने उनको भनाइ छ । क्यासी, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरुको छाता संस्था हो ।
‘चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर’ भन्ने थिममा सञ्चालन भइरहेको सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहेको छ ।
सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपूर्ण विषयहरुमा दुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले विचार विमर्श गर्ने जनाइएको छ ।