भूकम्पका ३३ घाइते नेपालगन्जमा उपचाररत

नेपालगन्ज– जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते ३३ जनाको बाँकेको नेपालगन्जमा उपचार भइरहेको छ । जाजरकोट र रुकुम पश्चिमबाट उपचारका लागि नेपालगन्ज रिफर गरिएका ३३ जना घाइतेलाई एम्बुलेन्स र हवाईजहाजबाट ल्याएर भेरी अस्पतालको आपतकालीन कक्षमा राखेर उपचार भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार घाइते ३१ जनाको भेरी अस्पताल नेपालगन्जमा र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ भने २४ जनाको अवस्था सामान्य र एक जनाको अस्पतालमा पुर्याउँदा पुर्याउँदै मृत्यु भएको प्रजिअ पोखरेले जानकारी दिए ।
घाइतेहरूको उपचारमा विशेषज्ञ चिकित्सकसहित अस्पतालका स्वास्थ्यकर्मी बिहानैदेखि तैनाथ गरिएको थियो । घाइतेलाई नेपाली सेनाको हेलिकप्टर र नेपाल एयरलाइन्सको जहाजमार्फत् नेपालगन्ज विमानस्थलमा ल्याइएको छ । त्यहाँबाट नेपाल प्रहरी, नेपाली सेना, नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न संघ संस्थाको एम्बुलेन्समार्फत् नेपालगन्जस्थित भेरी अस्पताल पुर्याइएको छ ।
घाइतेहरुमध्य कतिपयको खुट्टामा, पेटमा र शरीरका विभिन्न अंगमा चोट लागेको र उनीहरू सबैको उपचार सुरु गरिएको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले बताए । ‘हाम्रो अस्पतालको पुरै टिम जिम्मेवारीका साथ लागेको छ,’ उनले भने, ‘घाइतेको उपचारमा कुनै कसर बाँकी नराखी सेवा दिन हामी तयार छौं ।’
नेपालगन्जमा भेरी अस्पताल, नेपाली सेना र नेपाल प्रहरीको अस्पतालका साथै अन्य निजी अस्पतालमा उपचारका लागि प्रबन्ध मिलाइएको प्रकोप व्यवस्थापन फोकल पर्सन नरेश श्रेष्ठले बताए । यसैबीच जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितका लागि बाँकेका चारवटा स्थानीय तहले १० लाखभन्दा बढीको सहयोग गर्ने निर्णय गरेका छन् ।
शनिबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा पालिकाले खाद्यान्न, औषधि, त्रिपाल, कम्बल, मेडिकल टिम परिचालन गर्ने प्रतिबद्धता जनाएका हुन । नेपालगन्ज उपमहानगरपालिकाले चार लाख बराबरको खाद्यान्न, त्रिपाल, झुल, पि–फर्मसँगै सय परिवारलाई पुग्ने सामग्री, मेडिकल टिम परिचालन गर्ने भएको छ । कोहलपुर नगरपालिकाले दुई लाख बराबरका औषधि र खाद्यान्न उपलब्ध गराउने बताएको छ ।
राप्तीसोनारी गाउँपालिकाले एक लाख बराबरको औषधि, ५० हजार बराबरको खाद्यान्न र एकजना चिकित्सकसहित स्वास्थ्यकर्मीको टिम परिचालन गर्ने भएको छ । उसले २० थान कम्बल र २० थान त्रिपाल पनि सहयोग गर्ने बताएको छ । खजुरा गाउँपालिकाले तीन लाख बराबरको औषधि सहयोग गर्ने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले १० थान टेन्ट, ५० थान त्रिपाल, ५० थान कम्बल उपलब्ध गराउने, केमिकल एण्ड मेडिकल एसोसिएसन सप्लायर्स सर्जिकल प्रालिबाट ३५० केजी चिउरा र नौ सय प्याकेट चाउचाउ उपलब्ध गराउने भएको छ । केयर नेपाल र एडब्लुओ संस्थाको सहयोगमा दुई सय परिवारका लागि त्रिपाल, म्याट्रेस कम्बल सहयोग गर्ने, नेपालगन्ज ग्रिन सिटीका तर्फबाट २५ बोरा चामल, दुई सय केजी चिउरा र ४० पेटी चाउचाउ सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।