अन्नपूर्ण पदमार्गमा चहलपहल बढ्यो

पर्वत– अन्नपूर्ण पदमार्गमा पर्यटक आगमन बढेको छ । पर्यटकीय याम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो । विगत तीन साता अघिसम्म सुनसान जस्तै बनेको पदमार्गमा मौसम खुलेसँगै पर्यटकहरुको संख्या बढदै गएको छ ।
पर्वत र कास्कीको सिमाना नयाँ पुलदेखि सुरू हुने यो पदमार्ग विश्वकै १० उत्कृष्ट पदमार्गमा पर्छ । अघिल्लो सिजनमा २० हजार भन्दा बढी पर्यटक भित्रिएको यो पदमार्गमा अहिले दैनिक तीन सयभन्दा बढी पर्यटकहरु इन्ट्रि भैरहेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) विरेठाँटी चेकपोष्ट इन्चार्ज याम गुरुङले जानकारी दिए ।
उनका अनुसार अक्टुवर एक तारिखदेखि दैनिकजसो तीन सयभन्दा बढी पर्यटकहरु भित्रिने गरेका छन् । यो संख्या कहिलेकाँही चार सयको हाराहारीमा समेत पुग्ने गरेको उनले बताए । यो संख्या डिसेम्वर पहिलो सातासम्म जारी रहन्छ । यो वर्ष मनसुन ढिलागरी सकिएकाले पनि सेप्टेम्वर बाटै सुरू हुने चहलपहल केही ढिलो गरी अक्टुवर एकदेखि सुरू भएको थियो । त्यसअघि वर्षायाममा भने फाटफुट मात्र पर्यटक आएका थिए ।
वर्षायाममा दैनिक १०/१२ जनाको हाराहारीमा मात्र आउने गरेका थिए । यो संख्या बाह्य पर्यटकको मात्र हो । यस बाहेक आन्तरिक पर्यटकहरू समेत उत्तिकै मात्रामा घुम्न आउने गरेको गुरुङले बताए । नेपालीहरूमासमेत घुम्ने संस्कृति विकास भएकाले यो पदमार्गमा आउने आन्तरिक पर्यटकहरू समेत उत्तिकै मात्रामा बढ्दै गएको गुरुङको भनाइ छ । विरेठाँटी चेकपोष्ट इन्चार्ज गुरुङका अनुसार अहिले सबैभन्दा बढी सार्क राष्ट्रका पर्यटकहरू आउने गरेका छन् ।
त्यसमा भारतीय पर्यटकको संख्या उल्लेख्य छ । यस बाहेक युरोप, अमेरिकी, कोरियन, जापान, चीन, अस्ट्रेलिया, जर्मनीलगायतका मुलुकबाट समेत आउने गरेका छन् । अघिल्लो सिजनमा २० हजारभन्दा बढी पर्यटक भित्रिएको यो पदमार्गमा यो सिजनमा अझै दोब्बर हुने अनुमान गरिएको छ । कोरोना संक्रमणले दुई वर्ष नराम्ररी थलिएको पदमार्गमा सन् २०२३ मा उल्लेख्य मात्रामा पर्यटक भित्रिएका थिए ।
सन् २०२२ को वर्षमा कुल २४ हजार ५४२ जना पर्यटक भित्रिएका थिए । यो पदमार्ग आसपासमा सयौं संख्यामा होटल व्यवसाय सञ्चालनमा रहेका छन् । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, प्राकृतिक सुन्दरता हेर्न र कास्कीको नयाँपुलदेखि बिरेठाँटी हुँदै घान्द्रुक–घोरेपानी–मस्ताङ, मुक्तिनाथबाट थोराङ भञ्ज्याङ उक्लेर मनाङ हुँदै लमजुङ जान अन्नपूर्ण राउन्ड पदमार्गमा आउँछन् । मुस्ताङ र मनाङका विभिन्न हिमाल तथा चुली चढ्न तथा हेर्न पर्यटक भित्रिन्छन् ।
बिरेठाँटीमा दर्ता भएर पदयात्रा सुरू गर्ने सवै पर्यटक थोराङ भञ्ज्याङ पास भने गर्दैनन् । मुस्ताङको मुक्तिनाथभन्दा माथि पुग्दा लेक लाग्ने, विरामी पर्ने जस्ता समस्याले अधिकांश पर्यटकहरू अन्नपुर्ण वेसक्याम्पबाटै फर्किने गरेका छन् । यो क्षेत्रमा पर्यटकहरूले ७ देखि ९ दिनसम्म बिताउने गरेको गुरुङले बताए । पछिल्लो समय नयाँपुलदेखि घान्द्रुकसम्म, र बिरेठाँटीदेखि तिखेढुंगासम्म सडक विस्तार भएकाले पर्यटकहरूको बसाई छोटिएको छ । जसले गर्दा स्थानीय व्यावसायीहरूलाई समस्या परेको छ ।
पर्यटकहरूका चहलपहल बढेसँगै होटल व्यावसायीलाई समेत भ्याइनभ्याइ भएको छ । सिजन सुरू भएसँगै पर्यटकको आगमन बाक्लिएकाले वर्षायाममा फुर्सदिला बनेका व्यवसायीहरू ब्यस्त हुन थालेका छन् । आफूहरूका लागि मुख्य आम्दानी गर्ने सिजननै यहि बेला भएको घान्द्रुकमा होटल सञ्चालन गर्दै आएकी माया थापाले बताइन् । अहिले बिहानदेखि राती अबेरसम्म पर्यटकको सेवामा दिन वित्ने गरेको उनको भनाइ छ ।
वर्षा याम पर्यटकका लागि अफसिजन हुने भएकाले पर्यटकको आगमन घट्ने भएपनि हिउँदयामका अधिकांश महिनामा भने चहलपह नै हुने गर्छ । तर सबैभन्दा बढी सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना उत्तम मौसम मानिन्छ । अन्य समयमा पनि विदेशी पर्यटकहरू आउने गर्छन् ।