शरणार्थी समस्या समाधान गर्न माग

बिर्तामोड– झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शरणार्थी समस्या समाधान गर्न माग गरेका छन् । झापाको दमक बेलडाँगीस्थित शिविरमा आयोजित कार्यक्रममा सहभागी शरणार्थीहरुले नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई शरणार्थी समस्या समाधान गर्न माग गरेका हुन् ।
अमेरिकासहितका दातृ मुलुक र राष्ट्रसंघीय शरणार्थी आयोगको विशेष पहलमा १ लाख १३ हजारभन्दा बढी भुटानी शरणार्थी पुनर्बसोबासमा गए पनि शरणार्थी समस्या अझै सुल्झन नसकेकाले आफूहरुले समस्या समाधानका लागी पहल गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससमक्ष माग गरेको भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सञ्चहाङ सुब्बाले बताए ।
उनले झापा र मोरङका शिविरमा रहेका ६ हजारभन्दा शरणार्थीको घरफिर्ती तथा पुनर्वासमा पुगेका परिवारसँगको पुनर्मिलन अधिकारका बारेमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्मरण गराएको बताए । गाँस, बास, कपासको न्यूनतम हक अधिकारबाट वञ्चित रहेका झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीले स्वेच्छिक रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई समस्याका बारेमा अवगत गराएको उनको भनाइ छ ।
झापा र मोरङका शिविरमा रहेका ६ हजारभन्दा बढी शरणार्थीलाई अलपत्र छाडेर शरणार्थी आयोग, विश्व खाद्य कार्यक्रमसहितका राष्ट्रसंघीय निकाय र अरु दातृ संस्थाले सहयोग गर्न छाडिसकेकाले आफूहरुलाई समस्या भएकाले नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेससमक्ष समस्या समाधानको माग गरिएको सचिव सुब्बाले बताए । शरणार्थी मामलालाई पूर्णतया राजनीतिक समस्या भन्दै यसमा भुटान, भारतसहितको बहुपक्षीय वार्ताको उपायबाट समाधान पहिल्याइनुपर्ने सचिव सुब्बा बताउँछन् ।
शरणार्थी पुनर्बसोबासपछि अहिले पारिवारिक फुट, खाद्यान्नलगायतको सुविधा कटौती, शरणार्थी पञ्जिकरण समस्या, शरणार्थी परिचयपत्र वितरण र नवीकरणमा रोकलगायतका कठिनाइ उब्जिएको उनको भनाइ छ । स्वेच्छिक घरफिर्ती नभएको र तेस्रो देशमा पुनर्वासमा जानसमेत अयोग्य बनाइएका शरणार्थीलाई अन्तर्राष्ट्रिय कानुनबमोजिम शरणागत देशमै नागरिक अधिकारसहितको बसोबास व्यवस्थामा पहल गर्नुपर्ने उनको भनाइ छ । भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिले र्याली तथा भेलाको आयोजना गरेको थियो ।