गत वर्षको सोधनान्तर घाटा ६७ अर्ब

आर्थिक वर्ष २०७५-०७६ मा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ११ लाखले घाटामा रहेकोमा समीक्षा वर्षमा ५९ करोड १० लाखले घाटामा रहेको हो ।
आर्थिक वर्ष २०७५-०७६ मा चालू खाता २६५ अर्ब ३७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष यस्तो घाटा २४७ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३७ करोडले चालू खाता घाटामा रहेकोमा समीक्षा वर्षमा २ अर्ब ३५ करोडले घाटामा रहेको छ ।
आर्थिक वर्ष २०७५-०७६ मा पूँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ७ करोड रहेको छ । अघिल्लो वर्ष पूँजीगत ट्रान्सफर १७ अर्ब ७२ करोड र प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ५१ करोड रुपैयाँ रहेको थियो ।
आर्थिक वर्ष २०७५-०७६ मा कुल आन्तरिक कर्जा २०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा २६.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो दावी २२.३ प्रतिशतले बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.२ प्रतिशतले बढेको थियो । २०७६ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.७ प्रतिशत, ३२.८ प्रतिशत र ४६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको थियो । २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.३ प्रतिशत रहेको छ । २०७५ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७५-०७६ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.९ महिनाको वस्तु आयात र ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३६.४ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए ।
आर्थिक वर्ष २०७५-७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ३.१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५-०७६ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ५.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, हिमालमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९ प्रतिशत र तराईमा ४.३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत र ४.४ प्रतिशत रहेको थियो ।
२०७६ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ६.० प्रतिशत र सन् २०१९ को जुलाईमा भारतमा ३.१५ प्रतिशत रहेको छ । थोक मुद्रास्फीति २०७६ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ । २०७५ असारमा यस्तो मुद्रास्फीति २.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७५-०७६ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई ८७९ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ७.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५-७६ मा खुद ट्रान्सफर प्राप्ति १५ प्रतिशतले वृद्धि भई ९९४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो प्राप्ति १.५ प्रतिशतले बढेको थियो ।