गुटेरेस लुम्बिनी आउने भएपछि पर्यटन क्षेत्र उत्साहित
बुटवल– नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आउने भएपछि पर्यटन क्षेत्र उत्साहित भएको छ । मंगलबार बिहान उनी लुम्बिनी आउने कार्यक्रम तय भएको छ ।
कोभिड महामारीले प्रभावित पर्यटन क्षेत्र अझै लयमा आइसकेको छैन । त्यस माथि आर्थिक मन्दीलगायतका समस्या व्यवसायीले भोगिरहेका छन् । यो अवस्थामा राष्ट्रसंघका महासचिवको भ्रमण हुन लागेको हो । धेरै पछि विदेशी उच्च पदस्थ व्यक्तिको भ्रमण हुन लागेकाले लुम्बिनीका पर्यटन व्यवसायी आशावादी देखिएका छन् ।
होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीको प्रचार प्रसार र प्रवर्द्धनमा यो ठूलो अवसर भएको बताए । ‘उहाँ लुम्बिनी आउँदा अन्तर्राष्ट्रिय स्तरका मिडियामा पनि लुम्बिनीको कभरेज हुन्छ । प्रचार प्रसारमा यो ठूलो अवसर हो’ उनले भने, ‘उहाँका लाखौं फलोअर्सहरु छन्, लुम्बिनीमा केही कुरा बोल्नुभयो भने ती फ्लोअर्समा राम्रो सन्देश जान्छ । भोलीका दिनमा पर्यटनदेखि हरेक कुरामा धेरै उपलब्धी हुन्छ ।’
यसरी उच्च पदस्थ विदेशीलाई ल्याउन सक्यो भने लुम्बिनीको पर्यटन क्षेत्रले फड्को मार्ने ज्ञवालीको भनाइ छ । ‘नेपाल भ्रमणमा आउने डेलिगेट्सहरुलाई लुम्बिनी ल्याउन सक्यो भने विदेश गएर यहाँको प्रचारप्रसार गर्नुभन्दा यहाँबाटै ठूलो प्रचार हुन्छ’ उनले भने । डेढ वर्षअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएका थिए ।
२०७९ सालको बुद्ध जयन्तीमा भारतका प्रधानमनत्री नरेन्द्र मोदी आएपछि त्यस यता लुम्बिनीमा भारतीय पर्यटक बढिरहेका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले भ्रमणबाट तत्काललाई केही फाइदा नभएपनि दीर्घकालिन फाइदा पुग्ने उल्लेख गरे ।
‘विदेशी सरकार प्रमुख र राष्ट्र प्रमुखको भ्रमण जस्तो त अलि हुँदैन । तर तत्काललाई केही नभएपनि दीर्घकालिन रुपमा लुम्बिनीको पर्यटनले फाइदा लिन सक्छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय समुदायमा नेपाल र लुम्बिनी पनि रहेछ भन्ने पर्छ ।’ महासचिव गुटेरेस सोमबार पोखरा र अन्नपूर्ण बेसक्याम्प जाने छन् मंगलबार पोखराबाट उनी भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
भैरहवाबाट हेलिकोप्टरमा बिहान ९ बजे लुम्बिनी आउने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । ‘गुटेरेस शान्ति दीप भएर मायादेवी मन्दिरमा आउनुहुन्छ । मायादेवी मन्दिरमा दर्शन गरेपछि यहाँ परिसरमै ब्रिफिङ गर्ने कार्यक्रम छ’ उनले भने, ‘यहाँ दीप प्रज्वलन गनुहुनेछ । त्यसपछि पत्रकार समुदायलाई शान्तिको सन्देश प्रवाह गर्ने कार्यक्रम छ । वृक्षारोपण गर्ने कार्यक्रम पनि तय भएको छ ।’
लुम्बिनीमा डेढ घण्टा जति बिताएर महासचिव गुटेरेस काठमाडौं फर्कने कार्यक्रम रहेको छ । संयुक्त राष्ट्रसंघका यस अघिका महासचिवहरुले पनि लुम्बिनीको भ्रमण गरेका छन् । पहिलो पटक १९६७ मा तत्कालिन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गरेका थिए । लुम्बिनी र राष्ट्रसंघको सम्बन्ध धेरै पुरानो भएको कोषका सदस्य सचिव शाक्यको भनाइ छ ।
‘राष्ट्रसंघको महासचिव लुम्बिनीमा आउँदा विश्वव्यापी रुपमा एक खालको सन्देश प्रवाह हुन्छ’ उनले भने । महासचिव गुटेरेसको भ्रमण हुने भएपछि लुम्बिनीलाई सिंगारिएको छ । लुम्बिनीका सडक कालोपत्रे गर्ने र खाल्डा पुर्ने काम तीव्र रुपमा भएको छ । चार वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ ।