पोखरालाई आइटी हब बनाइने

पोखरा– गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष रोबिन शेरचनले पोखरालाई आइटी हब बनाउने महाविर पुनको अभियानलाई सफल पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जापानका सफल व्यवसायी तथा एनआरएनए अभियन्तासमेत रहेका उपाध्यक्ष शेरचनले करिब चार करोड रुपैयाँ बराबर खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको उक्त परियोजनाको नेतृत्व लिन आफू तयार रहेको बताए । एनआरएनएको उपाध्यक्षमा निर्वाचित भएर पहिलो पटक पोखरा आएका उपाध्यक्ष शेरचनले विद्यालय अध्ययनको समय पोखरामा बिताएको स्मरण गर्दै पोखरा र गण्डकी प्रदेशको बृहत् विकासको लागि एनआरएनएसँग सहकार्य गर्ने जनाए ।
पुनको परिकल्पनाको प्रसंसा गर्दै आफूले लामो समयदेखि नेपालमा दीर्घकालिन सहयोग गर्ने आफ्नो धोको अब पूरा हुने जिकिर गरे । आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनलाई केही समयअघि शेरचनले नगद एक लाख रुपैयाँ प्रारम्भिक चरणमा सहयोग गरेको नेपाल पत्रकार महासंघ जापानका पूर्व अध्यक्ष मोहन घलेले बताए । नेपालमा पनि थप रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी भित्र्याउने उपाध्यक्ष शेरचनले प्रतिबद्धता जनाएका छन् ।
प्रदेशको राजधानी पोखरा र समग्र प्रदेशसहित नेपालको विकासको लागि आफूहरूले योजनाबद्ध ढंगले जलविद्युत, पर्यटन, कृषि, भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न चाहेको उनको भनाइ थियो । मुस्ताङमा जन्मिएर पोखरामा प्रवेशिका परीक्षासम्मको अध्ययन गरेका उपाध्यक्ष शेरचन निर्वाचित भएर पहिलो पटक पोखरा आएसँगै उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि गण्डकी बोर्डिङ स्कुल हुँदै होटलमासमेत स्वागतसहित बधाई ज्ञापन गरिएको थियो ।
आफू जन्मेको ठाउँ मुस्ताङ, अध्ययन गरेको पोखरादेखि गण्डकी प्रदेशको समग्र विकासको लागि योजना बनाएर आवश्यक सहयोग गर्ने उनले बताए । जापानमा रहेको शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङले आफ्नो क्षेत्रको व्यक्ति एनआरएनएको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा खुसि व्यक्त गर्दै खादासहित शेयरचनलाई स्वागत गरिन् ।
देशमा युवा शक्ति विदेश पलायन हुँदै गरेको अवस्थामा अब एनआरएनएको नवनिर्वाचित टिमले नेपालमा विदेशी लगानी भित्र्याउँदै लाखौं युवालाई रोजगारी सिर्जना गर्ने काम गर्न सांसद गुरुङले आग्रह गरिन् । शेरचन विगत ३५ वर्षदेखि जापानमा विभिन्न व्यवसाय गर्दै आइरहेका छन् । शेरचनलाई पोखरास्थित गण्डकी बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरूले संयुक्त रूपमा स्वागत गरेका थिए ।
सो अवसरमा युवा व्यवसायी आनन्द बतासले यस क्षेत्रको विकासमा एक आपसमा सहाकार्य गरेर काम गर्दा ठुला योजनाहरू सम्पन्न गर्न सकिने बताए । नेपाली युवाहरू विदेशीने क्रमलाई अब बिस्तारै कम गर्दै नेपालमा नयाँ उद्योग धन्दा तथा उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।