Logo

भीडभाड बढ्यो बढेन व्यापार

दाङ– नेपालीहरूको महान पर्व दसै भित्रिसकेको छ । दसैं भित्रिएसँगै बजारमा चहलपहल बढेको छ । ठूलाठूला व्यापारिक मलदेखि सडक पेटीमा सामान किनबेच गर्नेको भीडभाड बढेको छ । दाङका मुख्य बजार तुलसीपुर, घोराही, लमही, नारायणपुर, बिजौरी, हापुरेका बजारमा अहिले भीडभाड बढेको हो ।

विशेषगरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । त्यस्तै सुन पसलमा पनि त्यत्तिकै भीड हुने गरेको छ । कोरोनापछि थलिएको बजार पछिल्लो समयको आर्थिक मन्दीले गर्दा सोचेअनुसार व्यापार–व्यवसाय हुन नसकेको व्यवसायी बताउँछन् । तर, यस अघिका वर्षको जस्तो व्यापार–व्यवसाय बढ्न नसकेको उनीहरूको भनाइ छ । दसैं मनाउन जिल्ला भित्रिने र जिल्लाबाट पहाडी जिल्ला जाने जान सुरु गरेका छन् ।

बजारमा ग्राहकको भीड बढे पनि कारोबार भने घटेको व्यापारी बताउँछन् । सामान्य वर्षको दसैंको तुलनामा यस पटकको दसैंको कारोबार आधाले घटेको व्यापारीको भनाइ छ । घोराहीको न्युरोडमा जुता चप्पलको व्यापार गर्दै आएका छविनारायण गिरिले व्यापार नबढेको बताए । बजारमा देखिएको भीड जस्तो कारोबार बढ्न नसकेको उनको भनाइ छ । ‘दिनप्रतिदिन ग्राहकको संया बढ्दै छ तर विगतका वर्ष जस्तो व्यापार बढ्न सकेको छैन,’ उनले भने ।

विगतका दसैंमा राम्रो व्यापार हुने गरेको भए पनि यस वर्ष हुन नसकेको उनको भनाइ छ । अहिले व्यापार ३० प्रतिशतमात्र रहेको उनले बताए । व्यापार गर्ने अप्ठेरोको अवस्था रहेको गिरि बताउँछन् । ‘अहिलेको जस्तो अवस्था भोग्नु परेको थिएन,’ उनले भने । यसले व्यवसायीलाई निराश बनाएको छ । खाद्यान्नको व्यापारसमेत नबढेको खाद्य व्यापार गर्दै आएका घोराहीका रणबहादुर खड्काले बताए । चाडपर्वमा पनि व्यापार नबढेको उनको भनाइ छ ।

‘चाडपर्वले भीडभाड बढे पनि व्यापार बढ्न सकेको छैन,’ खड्काले भने । चाडपर्वको समयमा व्यापार बढने आशा गरिए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । व्यापार नहुँदा चाडपर्व आएको जस्तो अनुभूतिसमेत नभएको उनी बताउँछन् । पछिल्लो समय खाद्यान्नको मूल्यमा समेत वृद्धि भएको उनले बताए । ‘अहिले खाद्यान्नमा करिब पाँच प्रतिशत मूल्य वृद्धि भएको छ,’ उनले भने । अहिले चिनी आयात हुन नसक्दा पाउनसमेत समस्या भएको खड्का बताउँछन् ।

अहिले अन्य व्यवसायीको व्यापार पनि बढन नसकेको व्यवसायीको भनाइ छ । नागरिकको आय बढ्न नसक्दा व्यापार व्यवसाय बढन नसकेको नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले बताए । आम्दानी नहुँदा नागरिकले खर्च गर्न नसकेको उनको भनाइ छ । यसको असर व्यापार व्यवसायमा देखिएको श्रेष्ठ बताउँछन् ।

‘महँगी धेरै बढेको छ यसले नागरिकहरू मागमा परेका छन्,’ सचिव श्रेष्ठले भने । यसलाई रोक्न राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । आर्थिक संकटको प्रभावको कारण व्यापार व्यवसाय नबढेको बताइएको छ । आर्थिक संकटका कारण धेरै पलायन भइसकेका छन् । भएका व्यवसायमा व्यापार हुन सकेको छैन । किनमेल गर्ने खर्च गर्ने युवा जनशक्ति विदेशिँदा पनि यसले प्रभाव परेको व्यवसायी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्