Logo

लाखौं मूल्यको काठ सडेर नष्ट

मुगु– मुगुमा २०७६ सालमा सडक निर्माण गर्दा ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा काटिएका लाखौं मूल्य बराबरको काठ सडेर नष्ट भएको छ ।

छायानाथ रारा नगरपालिका १४ वाम चंखेलीमा रहेको सामुदायिक वनमा रोड निर्माण गर्दा सल्लो, बाज, धुपीलगायतका सयौं रुख फँडानी हुँदा संकलन गरिएको ७ सय क्युफिट सल्लाको काठ र १८ सय क्युफिट बाज, धुसीलगयत अन्य प्रजातिको काठ सयौं स्थानमा बेवारिसे रहेको काठ सामुदाय वन र डिभिजन वन कार्यालयको उदासीनताका कारण कुहिएर खेर गएको छ ।

सडक निर्माण गर्ने क्रममा र्‍याप थ्री नामक संस्थाले हाम्रो सामुदायिक वनको रूख काटेर धेरै ठूलो क्षति पुर्‍याएको थियो । अहिले धेरै ठाउँमा रहेका काठका थुप्रा कुहिएर नष्ट भइसकेका छन् । मुगुको चंखेली सामुदायिक वन र हुम्ला क्षेत्रको वनमा सयौं स्थानमा लाखौं मूल्यको काठ कुहिएको अवस्थामा छन् ।

सामुदायिक वनको नवीकरण र कार्ययोजना बनाउनमा ढिला भएको हुँदा त्यस्ता काठ सड्ने अवस्थामा पुगेको स्थानीय समाजसेवी रत्न बणुवालले बताए । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा काटिएका रुखका काठ सयौं स्थानमा रहेका छन् । २०७६ सालमा सडक निर्माण गर्ने बेला काटेका रुखका काठ ग्रामीण पहुँच कार्यक्रम तेस्रोले समुदाय वन र डिभिजन वन कार्यालयलाई हस्तान्तरण गरेको थियो ।

डिभिजन वन कार्यालयले आदेश नदिँदा लाखौं मूल्यको काठ वनमा बेवारिसे रूपमा कुहिएर नष्ट भएको स्थानीय जनप्रतिनिधि छायानाथ रारा नगरपालिका मुगु वडा नं १४ का वडा अध्क्षय जुनबहादुर खड्काले बताए । ग्रामीण पहुँच कार्यक्रम तेस्रो मुगु हुम्ला लिंक रोड निर्माण गर्ने क्रममा २६ सय क्युफिट काठ रहेको देखाइएको छ ।

कार्यालयबाट अनुगमन गर्दा धेरैजसो काठ कुहिएर नष्ट भइसकेको रिपोर्टमा उल्लेख छ । पछिल्लो समयमा सामुदायिक वनको वार्षिक नवीकरण र कार्ययोजना नभएर काठ नष्ट गर्न समय लागेको छ । अबको केही दिनभित्र यो काठको व्यवस्थापन गर्ने डिभिजन वन कार्यालय मुगुका प्रमुख अमरप्रसाद साहले बताएका छन् ।

कुनै बेला हरियो बन नेपालको धन भन्ने देशमा पछिल्लो समयमा विकासको नाममा सडक निर्माण गर्न खोज्दा हजारौं रुखका बोटबिरुवा नष्ट हुँदै आएका छन् । सडक निर्माण भइसकेपछि बेवारिसे अवस्थामा रहेका २६ सयभन्दा बढी क्युफिट काठ सामुदाय वन र डिभिजन वन कार्यालयले वन ऐन र कानुनअनुसार प्रक्रिया पुर्‍याएर लिलाम बिक्री गरेको भए राज्यकोषमा केही राजस्व उठ्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्