Logo

क्लाउडियालाई अर्थशास्त्रको नोबेल पुरस्कार

काठमाडौं– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री क्लाउडिया गोल्डिनलाई प्रदान गर्ने घोषणा गरिएको छ । क्लाउडिया अमेरिकाको हावर्ड विश्वविद्यालयमा आवद्ध छिन् । रोयल स्विडिस एकेडेमी अफ साइन्सको नोबेल पुरस्कार समितिले श्रम बजारमा लैंगिक भिन्नताका प्रमुख कारण उजागर गरेको भन्दै उनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

गोल्डिनले अमेरिकामा आम्दानी र रोजगारीका दरहरूमा लैंगिक भिन्नता कसरी र किन परिवर्तन भएका छन् भनेर अनुसन्धान गरेकी थिइन् । उनले दुई सय वर्षको तथ्यांक संकलन गरेर अनुसन्धान गरेको एकेडेमीले जनाएको छ । क्लाउडिया अर्थशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तेस्रो महिला हुन् । एक्लै अर्थशास्त्रको नोबेल पुरस्कार पाउने भने उनी पहिलो महिला भएको बताइएको छ ।

यसअघि यस वर्षको चिकित्सा, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका लागि पुरस्कारहरू घोषणा भइसकेका छन् । सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्र पुरस्कारलाई औपचारिक रूपमा अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक जगतमा ‘बैंक अफ स्वीडेन पुरस्कार’ को रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्