Logo

उपभोक्ताको हित विपरीत क्रियाकलापमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौंः मन्त्री रिजाल

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हित विपरीत कुनैपनि क्रियाकलापमा संलग्नलाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित सहुलियत पसलको काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको भन्दै अनुगमनको क्रममा उपभोेक्ताको अधिकार तथा हित विपरीत हुने कुनैपनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए ।

उनले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ, पारदर्शी एवं प्रतिष्पर्धी बनाउँदै गुणस्तरिय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्‍याई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री रिजालले उपभोक्ताहरुले प्रयोग गर्ने नाप तौल, गुणस्तर, उपभोग्य मितिका र मूल्यमा सचेत रहन आग्रह गरे ।

उनले सरकारले विगतका वर्षदेखि खाद्य संस्थान, साल्ट ट्रेडिङ, दुग्ध विकास बोर्डमार्फत खाद्य वस्तु तथा खसी बोका समेत छुट मूल्यमा बिक्री वितरण गर्दै आएको भन्दै यो वर्ष पनि आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरियता कायम गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उदेश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको बताए ।

उनले चाडपर्वको समयमा नेपाली बजारमा विभिन्न उपभोग्य वस्तुहरुको खपत बढी हुने गरेको बताए । उनले धेरै खपत हुने मौकामा कृतिम अभाव सिर्जना गर्न, कालोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद सकिएका र लेवलिङ नभएका सामग्रीहरु बेच्ने जस्ता गैरकानूनी क्रियाकलाप गर्ने तत्वहरु पनि बढी सक्रिय हुने हुँदा सरकारले त्यसमा ध्यानदिन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्