Logo

होमस्टे सञ्चालन गर्न सरकारको सहयोग रहन्छ

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले प्रदेशमा रहेका होमस्टे सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेशस्तरीय पर्यटन सम्मेलनमा सम्बोधन गर्दै पर्यटनमन्त्री धामीले हरेक होमस्टेमा दुई कोठाको पाहुना घर बनाउन लगायतमा प्रदेश सरकारले होमस्टे व्यवसायीलाई सहयोग गर्ने बताएका हुन् ।

होमस्टे (घरबास) महासंघ नेपालले शुक्रबार कञ्चनपुरको वाणीस्थित विजयसाल होमस्टेमा आयोजना गरेको सम्मेलनमा उनले होमस्टे पर्यटनलाई सहयोग गर्न प्रदेश सरकारले योजना बनाइरहेको बताए । उनले होमस्टेलाई कस्तो कस्तो खालको सहयोगको आवश्यकता छ भन्ने विषयमा होमस्टे व्यवसायीसँग छलफल गरेर मन्त्रालयले योजना बनाउने बताए ।

कोभिड–१९ महामारीका कारण थला परेको होमस्टे पछिल्लो समयमा पुनः पर्यटक आगमन हुन थालेको छ । होमस्टे सफा सुग्घर राख्नुका साथै गाउँघर, बाटो सफा राख्ने गाउँको होमस्टेलाई बढी प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिने मन्त्री धामीले बताए । उनले मन्त्रालयले होमस्टेमा पर्यटक ल्याउन, होमस्टेको प्रचारप्रसार गर्न, होमस्टे आसपासका पर्यटन गन्तव्यको सौन्दर्यकरण गर्न, होमस्टेहरूमा पूर्वाधार निर्माण गर्न मन्त्रालयले सहयोग गर्ने बताए ।

प्रदेश पर्यटन पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कालीराम चौधरीले होमस्टे दर्ता, नवीकरणमा होमस्टे व्यवसायीलाई समस्या भइरहेको बताए । उनले दुरदराजमा होमस्टे सञ्चालन गर्नुपर्ने र दर्ता नवीकरण गर्न धनगढी आउनुपर्ने भएकोले समस्या हुने गरेको बताए । उनले कार्यालयले मापदण्डअनुसार तयार गरे नगरेको अनुगमन गरेर मात्रै होमस्टे सञ्चालन अनुमति (दर्ता) दिनुपर्ने भएकोले कार्यालयलाई पनि खर्चिलो भएको बताए ।

उनले होमस्टे सञ्चालनसम्बन्धी ऐन संशोधन गरी सम्बन्धित स्थानीय तह वा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयलाई दर्ता र अनुगमनको जिम्मेवारी दिनुपर्ने देखिएको बताए । होमस्टे महासंघका अनुसार सुदूरपश्चिममा २५ वटा होमस्टे सञ्चालनमा छन् । तीमध्ये आठवटा कैलाली, चारवटा कञ्चनपुर र १३ वटा पहाडी जिल्लामा सञ्चालित छन् । पर्यटन इकाई प्रमुख चौधरीका अनुसार सामुदायिक र निजी गरी दुई प्रकारले दर्ता गरी होमस्टे सञ्चालन गर्न सकिने व्यवस्था छ ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरू ओमप्रकाश भाट सरल, तुलसी देवकोटा र गीता चौधरीले होमस्टेका समस्या समाधान गर्न संसद्मा विषय उठान गर्नुपर्ने बताएका थिए । उनीहरूले होमस्टेले स्थानीय उत्पादन बढाउन, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग गरेको बताए । सम्मेलनले नुक्लीपुर होमस्टे गौरीगंगाका अध्यक्ष दिनेश दहितको अध्यक्षतामा होमस्टे महासंघ सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्