Logo

पर्यटक बढाऊ

अहिलेसम्मको पर्यटक आगमन दरलाई हेर्दा यो वर्ष सरकारले राखेको लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको छ । सरकारले यो वर्ष १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको छ । सेप्टेम्बरसम्म ६ लाख ९२ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । १० लाखको सरकारी लक्ष्य पूरा हुन बाँकी तीन महिनामा ३ लाख ८ हजार पर्यटक आउनुपर्ने हुन्छ । यो भनेको मासिक १ लाखभन्दा बढी हो ।

अहिलेसम्म कुनै महिना पनि १ लाखको संख्यामा पर्यटक आएको तथ्यांक छैन । यही हिसाबले लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको हो । सरकारी तथ्यांकअनुसार पहिलो महिना जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार, मार्चमा ९९ हजार पर्यटक आएका थिए । त्यस्तै अप्रिलमा ९८ हजार ७ सय, मेमा ७७ हजार ७ सय, जुनमा ७२ हजार, जुलाईमा ५७ हजार ७ सय, अगस्टमा ६७ हजार र सेप्टेम्बरमा ९१ हजार पर्यटक आएका छन् । यो सबै हवाई मार्ग हुँदै नेपाल भित्रिएका पर्यटकको तथ्यांक हो ।

पर्यटन क्षेत्रमा सम्भावना देखेका कारण निजी क्षेत्रले यसको पूर्वाधार निर्माणमा खर्बौं लगानी गरेको छ । मुलुकभर स्तरीय होटल तथा रिसोर्ट निर्माण भइरहेका छन् । पूर्वाधारमा प्रत्येक वर्ष लगानी थपिइरहेको अवस्था छ । अहिले मुलुकभरमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १ सय ७३ पुगेको छ । यसैगरी तारे स्तरबाहेकका डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार २ सय २८ छ । ८ सय ५७ तारेस्तरका होटलमा रहेका बेडको संख्या १६ हजार ३ सय ३५ छ ।

पर्यटक आउनका लागि पूर्वाधार निर्माण भएर मात्र हुँदैन । मुख्य विषय पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ ।

तारेस्तरका होटलबाहेक पर्यटकस्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका बेडको संख्या ३७ हजार ३० पुगेको छ । नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या ३२ छ भने द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको संख्या ४१ पुगेको छ । निजी क्षेत्रले वर्षमा ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्ति दुवै तयार पारेको छ । तर अचम्म, सरकारले भने पर्यटक बढाउने लक्ष्य राख्न सकेको छैन ।

सरकारले १२ वर्षअघि सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउने क्रममा १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । त्यसको सात वर्षपछि सन् २०१८ मा ११ लाख ७३ हजार र २०१९ मा ११ लाख ९७ हजार पर्यटक आए । पर्यटक आगमन बढेको देखेर सरकारले २०२० मा २० लाख ल्याउने घोषणासहित फेरि नेपाल भ्रमण वर्ष मनाउन खोजेको थियो । कोभिड महामारीका कारण यो कार्यक्रम रद्द भयो । हुन त राष्ट्रिय पर्यटन रणनीतिक योजना २०१६–२०२५ मा सन् २०२५ सम्ममा वार्षिक २५ लाखभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

तर, त्यसअनुसारका कार्यक्रम आउन सकेका छैनन् । चालु आर्थिक वर्षमा भने लक्ष्य १० लाखकै छ । पर्यटक धेरै ल्याउन नसकेको मात्र होइन, आएका पर्यटकलाई पनि महँगोमा सेवा बेच्न सकेका छैनौं । पर्यटकको खर्च र बसाइ अवधि बढाउन सके पनि अहिले आएका पर्यटकबाट थप राहत हुने थियो । त्यस्तो वातावरण पनि बनाउन सकिएको छैन । पछिल्लो आर्थिक सर्वेक्षणअनुुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ अवधि १३.१ दिन र प्रतिपर्यटक प्रतिदिन औसत खर्च ४०.५ अमेरिकी डलर छ । ठूलो संख्यामा पर्यटकलाई सेवा दिन सक्ने अवस्था भए पनि सरकारले पर्यटक बढाउने वातावरण बनाउन सकेको छैन ।

पछिल्लो समय थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । तर, ती विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटक आउनका लागि पूर्वाधार निर्माण भएर मात्र हुँदैन । मुख्य विषय पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । दुबहीजस्ता मरुभूमिका देशहरूले करोडौंको संख्यामा पर्यटक तान्दा हामी १० लाखमा सीमित छौं । पर्यटकलाई आकर्षित गर्ने मुख्य दुई चिज हामीसँगै छन् । विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथासहित दर्जनौं हिमाल हामीसँग छन् ।

यस्तै मुख्य गरी बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी हाम्रैमा छ । संसारमा सबैभन्दा बढी मठमन्दिरको देश हाम्रै हो । राजधानीसहित अन्य क्षेत्र कला सभ्यताले भरिएको छ । अरूसँग भएको र हामीसँग नभएको एउटा मात्र समुद्र न हो । यसबाहेक अरू मुलुकसँग नभएका धेरै विषय हामीसँग छन् । तर, हामीले त्यसलाई संसारमाझ लैजान सकेका छैनौं । प्रचारप्रसारमा नै सरकार र निजी क्षेत्र दुवै चुकेको अवस्था छ । अब यसमा सुधार ल्याउने नसक्ने हो भने यो क्षेत्रमा भएको लगानी डुब्ने अवस्था आउनेछ । त्यसैले सरकार र निजी क्षेत्र दुवै थप सक्रिय हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्