सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेको छ । सशस्त्र प्रहरी गण पछाडिपट्टिको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा परेको हो । हालसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ ।
सार्वजनिक जग्गामा रहेका साल, साजलगायतका रूखहरू अवैध रूपमा कटानी हुने क्रम बढ्दो रूपमा रहेको छ । त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक जग्गालाई उपयोगमा ल्याउनका लागि जनप्रतिनिधिले चासो देखाएका छैनन् । सोही कारण स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय प्रेमप्रसाद जैसीले सार्वजनिक जग्गा संरक्षणमा हालसम्म कुनै पनि निकायले कार्य नगरेको बताए ।
उनले भने, ‘केही वर्षअघि खेलकुद मैदान निर्माणका लागि कार्य अगाडि बढाएको भए तापनि उक्त कार्य पूरा हुन् सकेको छैन ।’ त्यसैगरी स्थानीय राजेन्द्र महतोले पूर्वपश्चिम राजमार्ग नजिकै रहेको सार्वजनिक जग्गाको संरक्षण गरी नगरपालिकाले उपयोग गर्नका लागि अगाडि सर्नुपर्ने आवाज उठाउँदै आए तापनि अहिलेसम्म पनि सुनवाइ हुन नसकेको बताए ।
जग्गाको स्वामित्व नगरपालिकाले ग्रहण गर्नका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्नका लागि मन्त्रालयमा फाइल बुझाएको वडाध्यक्ष चक्रबहादुर खड्का बताउँछन् । उनले भने, ‘सार्वजनिक जग्गामा मिनी स्टेडियम निर्माण गर्नका लागि प्रयासरत रहेका छौं, मन्त्रालयले विस्तृत आयोजना प्रतिवेदन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन गरेर ल्याएसँगै एक रुखबराबर १० बिरुवा रोप्ने पैसा जम्मा गर्न भनेकाले उक्त कार्यका लागि कार्य गरी रहेका छौं ।’
त्यसैगरी स्टेडियम निर्माण गर्न सके राष्ट्रिय स्तरको मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने प्रदेश, संघीय सांसद, मन्त्रीलाई पनि यसबारे अवगत गराइसकेको खड्काले बताए । उनले सकारात्मक जवाफ पाइसकेको र स्टेडियम निर्माण भए अलपत्र परेको जग्गाको संरक्षण र उपयोग दुवै हुने जिकिर गरे ।