खोलामा भीमदत्त नपाकाे रोयल्टी ठेक्का

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले चौतर्फी आलोचनापछि महाकाली नदीबाहेक अन्य खोलानालाको नदीजन्य पदार्थ संकलनमा (रोयल्टी) ठेक्का लगाउने भएको छ ।
भीमदत्त नगरपालिकाको राजस्व परामर्श समितिको बैठकले चालु आर्थिक वर्षका लागि ठेक्का लगाउने निर्णय गरेको हो । महाकाली नदीसहित खोलानालामा ठेक्का लगाउन नसकेपछि अहिले नदीजन्य पदार्थ उत्खननमा भने रोक लगाइएको छ । त्यसैगरी महाकाली नदीमा ठेक्का नगरी अमानतबाट रोयल्टी संकलन गर्न लागिएको भन्दै विरोध भएपछि अनिश्चत कालका लागि रोक्का गरिएको थियो ।
राजस्व परामर्श समितिले प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरिएका खोलानालामा ठेक्का लगाउने निर्णय गरेको हो । गत वर्ष आइइई गरिएका उक्त खोलानालाहरूबाट पनि अमानतमा राजस्व संकलन गरिएको थियो । त्यसैगरी भीमदत्तको राजस्व परामर्श समितिका संयोजक उपमेयर नीलम लेखक जोशीले आइइई गरिएका सबै खोलानालामा ठेक्का लगाउने निर्णय गरिएको बताइन् । उनले भनिन्, ‘राजस्व परामर्श समितिको बैठक बसेको छ भने त्यसले ठेक्का लगाउने निर्णयसमेत गरेको छ ।’
कार्यालय प्रमुख आएपछि सार्वजनिक सूचना गरी ठेक्का प्रक्रियामा अघि बढाइने जोशीले बताइन् । उपमेयर जोशीले महाकाली नदीमा पनि आइइईका लागि प्रक्रिया अघि बढेकाले छिटो ठेक्का लगाउने गरी अघि बढेको बताएकी छन् । त्यसैगरी भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीको वातावरण प्रभाव मूल्यांकन (इआइए) र ब्रह्मदेव महाकाली, रौटेला खन्ने खोला, गहताडी खोला, कामीकाटे खोलाको आइइईका लागि सम्झौता गरेको थियो ।
महाकाली नदीको इआइए प्रतिवेदन स्वीकृतिका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा पेस गरिएको छ् । इआइएका लागि १७ लाखमा सम्झौता समेत गरिएको थियो । त्यसैगरी ब्रह्मदेव महाकालीसहितका पाँच खोलाको आइइईका लागि २४ लाख ३८ हजार रुपैयाँ खर्च गरिएको छ भने भीमदत्त नगरपालिकाले गत वर्ष आइइई गरी दुई वर्षका लागि प्रतिवेदन स्वीकृत गरेको थियो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले केही दिन नदीजन्य पदार्थको उत्खनन, संकलन र बिक्री–वितरण रोकसम्बन्धी सार्वजनिक सूचनामा महाकालीको इआइए मन्त्रालयमा अध्ययनको क्रममा रहेको र आइइई पुनरावलोकन भईरहेको बताएका थिए । आइइई पुनवलोकन थालिएको पाँच खोलामा आइतबार ठेक्का लगाउने निर्णय समेत गरिएको थियो । त्यसैगरी आईइई गरिएका खोला नालामा समेत ठेक्का व्यवस्थापन नगरी भीमदत्तले अमानतबाट राजस्व संकलन गर्न खोजेको पुष्टि भएको छ ।
असोज १ देखि खोलानालामा नदीजन्य पदार्थको उत्खनन खुलाइएको छ भने भीमदत्तमा नदीजन्य पदार्थ उत्खननमा भने रोक लगाइएको छ । भीमदत्तको नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने निर्णयविरुद्ध निर्माण व्यवसायीले नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् । भीमदत्त नगरपालिकाले गत वर्ष महाकाली नदीसहित सबै नदी खोलानालाबाट अमानतमा २ करोड १७ लाख मात्रै राजस्व संकलन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा उक्त राजस्व रकम ६ करोडभन्दा बढी संकलन गरेको थियो ।