विमानस्थल र मुख्य नाकामा पर्यटकलाई स्वागत «

विश्व पर्यटन दिवसमा विविध कार्यक्रम

विमानस्थल र मुख्य नाकामा पर्यटकलाई स्वागत

काठमाडौं– ४४ औं विश्व पर्यटन दिवसका अवसरमा मुलुकभर पर्यटकलाई स्वागत गरिएको छ । विमानस्थलबाट आउने पर्यटकलाई सोही स्थानमा स्वागत गरिएको थियो भने स्थलमार्ग भएर आउनेलाई पनि मुख्य नाकाहरूमा स्वागत गरिएको हो । सोही क्रमअनुसार पोखरा विमानस्थलमा पहिलो फ्लाइटमा आएका स्वदेशी तथा विदेशी पाहुनालाई बुधबार बिहान पन्चे बाजासहित खादा लगाएर स्वागत गरिएको थियो भने दिउँसो बसपार्कबाट आएका पर्यटकलाई खादा लगाएर स्वागत गरिएको थियो ।

पर्यटकको स्वागत गर्न पोखरा महानगरका उपमेयर मन्जुदेवी गुरुङ, महानगरका प्रवक्ता मोतीराज तिम्सिना, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, कर्मचारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । पर्यटन दिवसकै अवसरमा नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा १ सय ११ वटा बिरुवा रोपी वृक्षारोपण गरिएको छ ।

समी, धूपी, पारिजातलगायत जातका बिरुवा रोपिएको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताए । त्यस्तै खुला रक्तदान कार्यक्रमबाट ३१ युनिट रगत संकलन भएको अध्यक्ष अधिकारीले जानकारी दिए । गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले पहिलो रक्तदाता अमृत सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी उक्त कार्यक्रम शुभारम्भ गरेका हुन् ।

यसैबीच रेवान पोखराको आयोजनामा यो वर्ष पनि लेकसाइडको वाराहीचोकदेखि खहरे चोकसम्म पर्यटन दिवसका अवसरमा साँझ पाँच बजेदेखि मिनी सडक महोत्सवको आयोजना गरेकोे रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए । पृथ्वी होटल समितिले विश्व पर्यटन विदवसको अवसरमा प्रभातफेरी र सरसफाइ गरेको छ । पोखराको मानव अधिकारचोकबाट सुरु भएको र्‍याली पृथ्वीचोक हुँदै पोखरा बसपार्कमा सरसफाइ गरिएको समितिका अध्यक्ष अम्बिका घिमिरेले बताए ।

यसैबीच वीरगन्जमा होटल तथा पर्यटन व्यवसायी संघ र पर्यटन प्रहरीले नाकाबाट भित्रिएका पर्यटकलाई स्वागत गरेका छन् । भारतको गोपालगन्जबाट आएका चार भारतीय पर्यटकहरूलाई वीरगन्जको शंकाराचार्य गेटमा माला, खादा र टीका लगाएर स्वागत गरिएको थियो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज पर्साका अध्यक्ष हरि पन्तसहितको टोलीले नेपाली संस्कृतिअनुसार दही खुवाएर खादा र मालाले स्वागत गरेका थिए ।

स्वागतका लागि संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्य कुवेर कार्की, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह पर्यटन प्रहरीलगायतको उपस्थिति रहेको थियो । वीरगन्ज नाकामा गरिएको स्वागतले भारतीय पाहुना पनि खुसी देखिन्थे । नेपालको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमध्ये पर्यटन क्षेत्र भए पनि पर्यटन क्षेत्रमा अझै राज्यले ध्यान दिन नसकेको व्यवसायीहरूको गुनासो छ । स्थानीय तहमा पर्यटन पूर्वाधार निर्माणमा पनि खासै ध्यान नगएको उनीहरूको भनाइ छ ।

स्थानीय तह, प्रदेश र संघ तीनवटै सरकारले पर्यटन पूर्वाधार विकास र प्रवर्द्धनमा खासै प्राथमिकता दिएको नदेखिएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सचिवसमेत रहेका पन्तले बताए । पर्यटकलाई बस्न र खानका लागि वीरगन्जमा ठूला–साना गरी स्तरीय होटलहरू पर्याप्त भए पनि पर्यटक घुम्न आउने पूर्वाधार अभावमा वीरगन्जमा पर्यटकलाई रोक्न नसकिएको अध्यक्ष पन्तले बताए ।

उनले वीरगन्जमा भएका पुराना पूर्वाधार, अन्तर्राष्ट्रिय स्तरको स्विमिङ पुल, घडिअर्वा पोखरीमा रहेको म्युजिकल फाउन्टेन, नारायणी रंगशालालगायतमा खेलकुद पर्यटनको माध्यमबाट पर्यटकलाई आकर्षित गर्न सकिने बताए । अन्य नयाँ पर्यटकीय गन्तव्यको पहिचान र निर्माण गर्नुपर्ने तथा वीरगन्ज आर्थिक र औद्योगिक नगरी पनि भएकाले औद्योगिक पर्यटनको प्रचुर सम्भावना रहेको उनले बताए ।

वीरगन्जमा आएका पर्यटकलाई राम्रो वातावरणमा स्वच्छ, सफा खाने बस्ने व्यवस्थाका लागि होटल तथा पर्यटन व्यवसायीले आफ्नो तर्फबाट सक्दो प्रयास र पहल गरे पनि सरकारी स्तरबाट पर्यटन विकासका लागि कुनै सहयोग नपाएको गुनासो व्यवसायीहरूको छ । वीरगन्ज शतप्रतिशत भारतीय पर्यटकमा नै निर्भर रहेको र भारतबाट आउने पर्यटकलाई वीरगन्जमा एकरात भए पनि बस्ने वातावरणका लागि राम्रा पर्यटकीय क्षेत्रहरूको विकास गर्नुपर्ने होटल तथा पर्यटन व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले बताए ।

पछिल्लो समयमा औद्योगिक घरानाहरूले नयाँ साहसिक खेलसहितको मनोरञ्जनका लागि थ्रिल फ्याक्ट्री र वल्ड्र्स अफ वन्डर्सजस्ता पार्कहरू स्थापना गरिए पनि ती पार्कमा स्थानीय र बाह्य पर्यटकको आकर्षण बढाउन सकिएको छैन । पहिलो पटक नै पर्यटकलाई आकर्षित गर्नका लागि वीरगन्जको शंकराचार्य गेटदेखि नै विभिन्न किसिमका सौन्दर्यकरण गरिएको भए पनि त्यतिले मात्रै वीरगन्जमा पर्यटक आउन नसक्ने र वीरगन्जमा रोक्न सक्ने अवस्था नरहेको व्यवसायीहरू बताउँछन् ।

त्यसैगरी बुटवलबाट प्राप्त समाचारअनुसार रुपन्देहीको बेलहिया नाका र बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । रुपन्देहीको सीमा नाका बेलहियामा बुधबार बिहान पाँच जना विदेशी पर्यटकलाई स्वागत गरिएको थियो भने नाका भएर पहिलो प्रवेश गर्ने जापानी मूलका अमेरिकी नागरिकलाई नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा लुम्बिनीले स्वागत गरेको हो ।

नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको नेतृत्वमा समितिका पदाधिकारी, सुरक्षाकर्मी, स्थानीयले नेपाल प्रवेश गरेका टाम नुगएन, ठुये डाओ, आन नुगएन, लुने लाम र ह्वाङ थ्रुङलाई स्वागत गरेका थिए । बेलहिया नाका सबैभन्दा बढी पर्यटक आउने नाका हो । पर्यटन दिवसको पूर्वसन्ध्यामा मंगलबार नाट्टा लुम्बिनीले बुटवलमा महाआरती गरेको थियो । बुद्व जन्मस्थल लुम्बिनीमा चीन र फ्रान्सका पर्यटकलाई स्वागत गरिएको छ ।

पर्यटन दिवसका दिन मायादवी मन्दिरमा पहिलो प्रवेश गर्ने दुई विदेशी पर्यटकलाई स्वागत गरिएको हो । लुम्बिनी विकास कोष र लुम्बिनी होटल संघ नेपालले पर्यटकलाई संयुक्त रूपमा स्वागत गरेका हुन् । सो अवसरमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले दुई पर्यटकलाई स्वागत गर्दै लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताउँदै लुम्बिनी भ्रमणका लागि आह्वान गरे । उनले पर्यटन दिवसको अवसरमा लुम्बिनीमा बुद्धिष्टहरूको भ्रमण केन्द्रको सुरुवाती केन्द्र बनाउन आग्रह गरे ।

कार्यक्रममा लुिम्बनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवाली, कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईलगायतले पर्यटकलाई खादा र उपहार दिएर स्वागत गरेका थिए । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउने गरिएको छ ।

(पोखराबाट दीनना बराल, वीरगन्जबाट नीरज पिठाकोटे र बुटवलबाट सुदीप भण्डारी)

प्रतिक्रिया दिनुहोस्