सेयर जारी नहुँदा मासिक २.६४ करोड घाटा

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक साढे २ करोड रुपैयाँभन्दा बढी व्ययभार थपिएको छ । आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात २ अर्ब ६४ करोड ७५ लाख लगानी गर्नेगरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन ।
सर्वसाधारणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ । आयोजनामा ऋण लगानी गर्ने संस्थाहरूसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ । यो हिसावले वार्षिक ३१ करोड ७७ लाख सर्वसाधारणबाट उठ्ने सेयरको व्याज तिर्नुपर्ने अवस्था आएको छ ।
आयोजनाप्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधारणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ । तर, अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन । “यदि सर्वसाधारणबाट रकम उठाएको भए आयोजनाका लागि व्याजमा रकम लिनु पर्ने थिएन,” आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीका कम्पनीसचिव रामसुन्दर श्रेष्ठले भने ।
आयोजनाका लागि प्रभावित क्षेत्र दोलखावासीका लागि २०७१ फागुनदेखि नै सेयर संकलन गर्नका लागि आह्वानपत्रसमेत निष्कासन भएको थियो । तर आयोजना प्रभावित क्षेत्र र मजदुरले समेत थप सेयरको माग राख्दै काम बन्द गरेपछि सेयर संकलन प्रक्रिया स्थगित भएको थियो । त्यसलगत्तै २०७२ वैशाख १२ र २९ मा भूकम्प गएपछि यो प्रक्रिया पूरै रोकियो ।
“त्यसबेला आयोजनाका लागि २०७२ वैशाखसम्म दोलखावासीको र असारसम्म सर्वसाधारणको लागि छुट्याएको सेयर संकलन गर्ने योजना थियो,” कम्पनी सचिव श्रेष्ठले भने, “त्यसपछि अहिलेसम्म त्यो रकम उठाउन सकेका छैनौं ।” जिल्लावासीको सेयर संकलन नगरेसम्म सर्वसाधारणको सेयर संकलन गर्न पाइदैन । जिल्लावासीको सेयर संकलन गर्नका लागि विभिन्न कारणले सेयर संकलन ढिला भएर गत कात्तिक ३० गतेमात्र कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । धितोपत्र बोर्डले समेत अहिलेसम्म अनुमति नदिँदा सेयर निष्कासन हुन सकेको छैन ।
आयोजनाको सेयर संरचनाअनुसार नेपाल विद्युत् प्राधिकरण ४१ प्रतिशत, नेपाल टेलिकम ६ प्रतिशत, नागरिक लगानी कोष २ प्रतिशत, राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत, कर्मचारी सञ्चय कोष १७.२८ प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, सञ्चयकोषका कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र विद्युत् प्राधिकरण कर्मचारी ३.८४ प्रतिशत र स्थानीय दोलखा जिल्लावासीको १० प्रतिशत सेयर रहेको छ ।
आयोजनामा दोलखावासी र सर्वसाधारणको २५ प्रतिशत बाहेक सबैले लगानी गरेका छन् । कर्मचारी सञ्चय कोषका कर्मचारी, सञ्चयकर्ताहरू, टेलिकम, बिमा संस्थान, नागरिक लगानी कोष, विद्युत् प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारीहरू २०७१ फागुनसम्म नै सेयर संकलन भइसकेको छ ।
आयोजनाको प्रबद्र्धक अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर पुँजी ११ अर्ब ५९ करोड रहेको छ । बैंकको बयाजबाहेक ३५ अर्ब २९ करोड लागत अनुमान गरेको आयोजनामा लागत बढेर ४६ अर्बसम्म पुग्ने प्रक्षेपण गरिएको छ । आयोजनाको हालसम्म ९४ प्रतिशत काम पूरा भएको छ भने ३७ अर्ब खर्च भइसकेको छ ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आयोजनाको माघसम्म दोलखावासीलाई सेयर जारी गर्ने तयारी भए पनि धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेको बताए । आयोजनाको सेयर जारी गर्न कम्पनी तयारी अवस्थामा रहेकाले बोर्डबाट अनुमति पाउनासाथ सेयर निष्कासन गर्ने उनले बताए ।