Logo

तराईमा पनि अलैंची खेती !

झापा-खोल्सामा फल्ने कालो सुन उपनामले चिनिने अलैंचीको परिचय यतिबेला फेरिएको छ । पहाडी भेगको ओसिलो जमिनमा मात्र फल्ने अलैंचीको व्यावसायीक खेती तराई भेगमा सुरु भएकाले यसको परिचय फराकिलो बन्दै गएको हो । झापाको बुद्धशान्ति गाउँपालिकाको भोटेटार, होक्से र जयपुरका २० भन्दा बढी किसानले अलैंची खेती गर्दै आएका छन् । उनीहरूले सुख्खा जमिनमा पनि उत्पादन हुने सलकपुरे जातको अलैंची लगाएका हुन् ।
तीन वर्ष पहिले रोपिएको उक्त अलैंचीले उत्पादन दिन सुरु गरेको भोटेटारका कृषक राधा बजगाईं बताउँछिन् । बजगाईंले सुपारी बारीमा अलैंची लगाएकी छन् । सुपारीको बोटले अलैंची रोपिएको जमिनलाई ओसिलो राख्न सहयोग गर्ने बजगाईंले बताइन् । “अलैंचीमा लगाएको मलले सुपारीको समेत उत्पादन बढाएको छ,” बजगाईंले भनिन्, “विरुवा रोपेको एक वर्षपछि उत्पादन सुरु भयो, पहिलो वर्ष नै सुख्खा एक मन अलैंची बेच्न सफल भयौं ।” “इलामको कोलबुङ्बाट विरुवा ल्याएर अलैंची खेती सुरु गरेकी बजगाईं खेतीमा प्राविधिक कठिनाइ झेल्नु परेको सुनाउँछिन् । “दिदी, भिनाजुको बाट विरुवा ल्याएर अलैंची खेती सुरु गरेँ” बजगाईंले भनिन्, “अलैंची खेतीको प्राविधिक नै दिदी बन्नु भएको छ, उहाँकै सल्लाह अनुसार विरुवाको स्याहार गर्दै आएको छु ।”
बजगाईंले यस क्षेत्रका अरु किसानलाई ६० हजार रुपैयाँ बराबरको अलैंचीका विरुवा बिक्री गर्न समेत सफल भएकी छन् । तराईमा पनि अलैंचीबाट आम्दानी सुरु गरेकी बजगाईंले प्राविधिकको व्यवस्था गरिदिन गाउँपालिकालाई गुहार्दासमेत गाउँपालिकाले चासो नदेखाएको आरोप लगाइन् । “यस विषयमा मैले गाउँपालिका अध्यक्ष, वडाध्यक्षलाई समेत जानकारी गराएँ,” उनले भनिन्, “प्राविधक नभएकै कारण विरुवा मर्ने समस्या देखिने गर्छ ।” आफू सदस्य रहेको होक्से सहकारी संस्थाले भने खेतीका विषयमा समयसमयमा सहयोग पु¥याउँदै आएको उनले बताइन् । तराई क्षेत्रमा गरिएको अलैंची खेतीबारे बुझन जिल्ला बाहिरबाट पनि कृषक आउने गरेका छन् । धनकुटाका कृषक गोविन्द तिम्सिनाले तराई क्षेत्रको अलैंची व्यवसायबारे अध्ययन गर्दै आएको बजगाईंले बताइन् । यस जातको अलैंची आफूले पनि लगाउने इच्छा तिम्सिनाले राखेको बजगाईंको भनाइ छ ।
भोटेटारका खगेन्द्रप्रसाद घिमिरे बुद्धशान्ति पहाडी जिल्ला इलामको सिमानामा पर्ने भएकाले पनि अलैंची खेती सम्भव भएको बताउँछन् । उनी पनि अलैंची खेती गर्दै आएका छन् । सुरुवाती दिनमा सोखले लगाएको अलैंचीले उत्पादन दिए पछि अहिले खेतीको रुपमा विस्तार गरिएको उनले बताए । घिमिरे पनि व्यवसायमा प्राविधिक समस्या रहेको सुनाउँछन् ।
बुद्धशान्ति गाउँपालिकाकै जयपुरमा अलैंची खेती सुरु गरेकी मनमाया उप्रेतीले पनि दुई कठ्ठा क्षेत्रफलमा अलैंची लगाएकी छन् । उनले पनि व्यवसायमा प्राविधिकको अभाव रहेको बताइन् । “थोरै क्षेत्रफलमा लगाए पनि गत वर्ष २० हजार रुपैयाँको अलैंची बेच्न सफल भएँ” सरकारले यसक्षेत्रमा नजर लगाउन सके हामी जस्ता कृषकलाई थप आम्दानी लिन सहज हुनेथियो ।” अलैंचीको मूल्यमा निरन्तर भएको गिरावटले भने किसानलाई निराश बनाएको उनले बताइन् ।
अलैंची खेतीमा प्राविधिकको अभाव झापामा मात्र नभएर देशभर नै रहेको अलैंची व्यवसाय महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए । झापाको बिर्तामोडमा अलैंची अध्ययन संकलन प्रतिष्ठान केन्द्र खोल्ने विषयमा प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढिरहेको कार्कीले जनाए । केन्द्रको स्थापना गर्नसके नेपालमा नै प्राविधिकको व्यवस्था गर्न सकिने उनको भनाइ छ । “कृषकको आफ्नै मेहेनतले तराई क्षेत्रमा पनि अलैंची खेती गर्नु खुसीको कुरा हो” कार्कीले भने, “पहाडी भेगसँग जोडिएका तराई क्षेत्रका अन्य स्थानमा पनि अलैंची हुने सम्भावना देखिन्छ ।” सरकारले नै अलैंची खेती सम्बन्धि विद्यालय तहदेखि नै पाठ्यक्रमको व्यवस्था गर्न आवश्यक रहेको कार्कीले जनाए ।

नेपाली अलैंचीको बजार

विगतमा प्रतिमन १ लाख ४० हजार रुपैयाँसम्म बिक्री भएको अलैँची ३० देखि ३२ हजार रुपैयाँ प्रतिमन खरिद बिक्री भइरहेको छ । अहिलेको मूल्य १० वर्ष यताकै कम भएको व्यापारी बताउँछन् । नेपालको अलैंचीलाई तेस्रो देशसम्म निर्यात गर्न सके किसानलाई फाइदा पुग्ने देखिन्छ । अहिले नेपालका ५६ जिल्लामा अलैंची खेती हुने गरेकोे छ । उत्पादन बढेकै कारण मूल्यमा भने गिरावट आएको अलैंची व्यवसायी महासघंका केन्द्रीय सचिव मात्रिका घिमिरे बताउँछन् । प्रदेश –१लाई अलैंचीको हब मानिन्छ । दोस्रो स्थानमा गणडकी प्रदेशको गर्खा, लमजुङ, कास्की, बागलुङ, स्याङ्जा लगायत जिल्लामा पनि अलैंची उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित अलैंचीको मुख्य बजार भारत हो । तर, नेपाल र भारत दुबै देशमा अलैंचीको आन्तरिक उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम नरोकिएको घिमिरेले बताए ।
भारतका विभिन्न भूभागमा अलैंचीको उत्पादन बढ्नुले पनि यस्तो समस्या आएको व्यापारी बताउँछन् । अलैंची प्रशोधन गर्ने उद्योग नेपालमा नै नभएका कारण पनि बजारका लागि भारत मै निर्भर रहनु परेको हो । यसको विकल्प नखोजिँदासम्म यस्तो समस्या रहिरहने विज्ञको भनाइ छ । पूर्वको काँकडभिट्टा जोगमनीबाट ९८ प्रतिशत अलैंची निर्यात हुँदै आएको छ । नेपालको अलैंची अन्य देशको भन्दा गुणस्तरीय रहेको बताइन्छ । भारत साथै तेस्रो मुलुक बंगलादेश, दुबई, कतार लगायतका देशमा अलैंची निर्यात गर्न सकिने भएपनि नेपाली अलैंचीको बिस्तार अहिलेसम्म किसान र व्यवसायीको पहलमा मात्र भएको अलैंची व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्