कृषक नै उपयोग गर्दैनन् शीतभण्डार

दाङ– केही महिनाअघि घोराहीको एक कृषकले खेती गरेको बन्दा बिक्री नभएपछि बारीमै सुक्यो । उनले मेहनत गरेअनुसार मूल्य नपाउँदा बन्दा बिक्री गरेनन् । बिक्री नगर्दा कृषकले गाई भैसीलाई खुवाउने, तथा बारीमै यत्तिकै छोडिदिएका थिए । पश्चिम दाङमा पनि कृषकले लगाएको बन्दा बिक्री नहुँदा खेर गएको थियो । यी त उदाहरण मात्र हुन् । उनीहरू जस्तै धेरै कृषकले यस प्रकारको समस्या भोग्दै आएका छन् ।
सिजनको समयमा टमाटरखेती गर्ने कृषकले पनि सस्तो मूल्यमा बिक्री गर्ने गरका छन् । तर कृषकले उत्पादन गरेका वस्तु केही समय सुरक्षित तरिकाले राख्ने गरेका छैनन् । सुरक्षित तरिकाले राख्नका लागि जिल्लामा शीतभण्डार पनि छन् । यसको उपयोग कृषकले गरेको पाइँदैन । घोराहीको झिगनीमा रहेको बिजी एग्रिकल्चर कल्चर पालिले सञ्चालन गरेको शीतभण्डार घाटामा सञ्चालन भइरहेको छ । स्थापना भएको लामो समय भए पनि घाटामा रहेको सञ्चालक एकनारायण पौडेलले जानकारी दिए ।
‘घाटामा नै सञ्चालन भइरहेको छ अब बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने सोचाइमा छौं,’ सञ्चालक पौडेलले भने । सरकारी निकायको सहयोग हुन नसक्दा पनि समस्या भएको उनको भनाइ छ । स्थानीय सरकारले सहकार्य गरेर अगाडि बढेमा सहज हुने भए पनि त्यस प्रकारको कार्य हुन नसकेको उनको भनाइ छ । करिब १४ करोड बढीको लगानीमा निर्माण गरिएको उक्त शीतभण्डारको क्षमता दुई हजार मेट्रिक टनको रहेको सञ्चालक पौडेल बताउँछन् ।
कृषकहरूले यसको महत्व बझ्न नसक्दा शीतभण्डारमा कृषकले उत्पादन गरेको वस्तु नराख्ने गरेको उनको भनाइ छ । ‘अहिले थोरैथोरै मात्रामा शीतभण्डारमा राख्ने गर्नु भएको छ,’ सञ्चालक पौडेलले भने । अहिले स्याउ तथा आलु राख्ने गरिएको उनको भनाइ छ । कृषकलाई उत्पादनमा जोडने र उत्पादन भएको वस्तु भण्डार गरेर उचित मूल्य पाउन सकून भनेर शीतभण्डार निर्माण गरिएको उनले बताए । ‘नागरिकलाई उत्पादनमा जोडेर आयस्तर सुधार गर्ने मुख्य उद्देश्यका साथ शीतभण्डार सञ्चालनमा ल्याइएको हो,’ उनले भने ।
अहिले शीतभण्डारमा खाद्यान्न प्रतिकेजी सात रुपैयाँ, आलु प्रतिकेजी ६ रुपैया र स्याउ तथा तरकारी प्रतिकेजी दुई रुपैयाँमा राखिने गरेको छ । खाद्यान्न र आलु लामो समय राखिने भएकाले मूल्य पनि बढी भएको हो भने स्याउ छिटो निकालिने गरेको छ । कृषकले शीतभण्डारको उचित उपयोग गर्न नसकेको लमही–राप्ती उद्यम लिमिटेडका निवर्तमान अध्यक्ष देवान्जन चौधरीले बताए । राप्ती उद्यम लिमिटेडले लमही नगरपालिका–३ मा टिकरीगढमा राप्ती कोल्ड स्टोर सञ्चालन गरेको छ ।
विगत करिब चार वर्ष पहिलेदेखि शीतभण्डार सञ्चालनमा ल्याइएको उनको भनाइ छ । करिब साढे १३ करोड लागनीमा शीतभण्डार सञ्चालनमा ल्याइएको हो । शीतभण्डारको क्षमता तीन हजार दुई सय मेट्रिक टन छ । ‘कृषकहरूले शीतभण्डारको उचित प्रयोग गर्न सकेका छैनन्,’ निवर्तमान अध्यक्ष चौधरीले भने । कृषकको सहजताका लागि शीतभण्डार निर्माण गरे पनि यसको सबैले उपयोग नगरेको उनको भनाइ छ । ‘शीतभण्डार खाली नभए पनि जुन उद्देश्यले निर्माण भएको हो त्यसअनुसार कृषकले उपयोग गर्न सक्नु भएको छैन,’ उनले भने ।
शीतभण्डारका बारेमा गलत बुझाइका कारण समस्या भएको उनी बताउँछन् । शीतभण्डारको महत्व बुझेमा यसको उपयोग गर्ने पनि बढ्ने उनको भनाइ छ । कृषकले शीतभण्डारमा ल्याएर राखेर बिक्री गर्ने हो भने मूल्यसमेत राम्रो पाउने उनको भनाइ छ । ‘उत्पादन धेरै भएको समयमा ल्याएर राख्ने पछि बिक्री गर्ने गर्दा राम्रो मूल्य पाउनु हुन्छ तर त्यसो गरेको पाइँदैन,’ उनले भने । कृषकहरूले तत्कालका लागि मात्रै हेर्ने गरेको उनी बताउँछन् । शीतभण्डारमा अहिले कृषकले आलु, अन्न, तरकारी, फलफूल राख्ने गरेको उनले बताए ।
शीतभण्डारमा आलु प्रतिकेजी पाँच रुपैयाँ, धान, मकै, गँहु प्रतिकेजी साढे तीन रुपैयाँ र स्याउ र तरकारी प्रतिकेजी तीन रुपैयाँमा राख्न सकिने उनको भनाइ छ । तरकारी र स्याउ छोटो समय राखिने भएकाले सस्तो रहेको उनले बताए । अरु लामो समय राखिने भएकाले मूल्य पनि बढी रहेको उनी बताउँछन् । लसुन र प्याज भण्डार गर्ने सुविधा जिल्लामा नभएको उनले बताए । त्यसैले आफूहरू लसुन, प्याज भण्डार गर्नसक्ने बनाउने योजनामा रहेको चौधरीको भनाइ छ ।
तुलसीपुर उप महानगरपालिका–११ उडहरीमा रहेको साना किसान शीतभण्डारमा पछिल्लो समय कृषकले राख्न ल्याउनेको संख्या बढेको छ । पहिलेको भन्दा अहिले राख्न ल्याउने कृषकको संख्या बढेको साना किसान शीतभण्डारका निवर्तमान प्रबन्धक चिरञ्जीवी केसीले बताए । ‘विस्तारै शीतभण्डारमा राख्नेहरू बढ्नु भएको छ यसलाई सकारात्मक रूपमा लिनु पर्दछ,’ उनले भने । उक्त स्थानमा एक सय मेट्रिक टन क्षमताको शीतभण्डार रहेको उनको भनाइ छ । शीतभण्डारमा कृषकले आलु र फलफूल राख्ने गरेका छन् । अन्य वस्तुभन्दा पनि आलु र फलफूल नै बढी राख्ने गरेको उनको भनाइ छ ।
अहिले शीतभण्डार सञ्चालनका लागि सहज नै रहेको केसी बताउँछन् । जिल्लामा सञ्चानमा रहेका अन्य शीतभण्डारको अवस्था पनि उस्तै छ । भएका शीतभण्डार राम्रोसँग सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाहरूले शीतभण्डार निर्माण गर्ने बताउँदै आएका छन् । बंगलाचुली गाउँपालिकामा निर्माण भएका शीतभण्डार सञ्चालनमा नआउँदै भत्किएको छ । यसरी सञ्चालनमा नआउँदै भत्किएपछि शीतभण्डारमा गरिएको लगानीसमेत खेर गएको छ । शीतभण्डार हुँदा पनि यसको सदुपयोग हुन नसक्नु दुःखद भएको यसका जानकार बताउँछन् । यसको उचित सदुपयोग गर्न सके कृषकलाई नै फाइदा पुग्ने उनीहरूको भनाइ छ ।