Logo

विपद्बाट तनहुँमा २९ करोडको क्षति

दमौली– विपद्बाट तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा २९ करोडभन्दा बढीको भौतिक क्षति भएको छ । बाढी, पहिरो, आगलागी, चट्याङ लगायतका विपद्बाट तनहुँमा २९ करोड ५७ लाख बराबरको क्षति भएको हो । घर, गोठ, विद्यालय भवनलगायतका संरचना नष्ट हुँदा उक्त क्षति भएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

विपद् व्यवस्थापन समितिका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा २४ घर, सात गोठ, अन्य चार संरचनामा क्षति पुग्दा ९९ लाख क्षति भएको छ । आर्थिक वर्ष २०७६/७७ मा १३४ घर, ३८ गोठ, २० अन्य र एक विद्यालयमा क्षति पुग्दा एक करोड ७४ लाखको क्षति भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा १५१ घर, २९ गोठ, १९ अन्य, दुई सरकारी कार्यालय र तीन विद्यालयमा क्षति पुग्दा चार करोड १६ लाख बराबरको क्षति भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ३९ घर, आठ गोठ, अन्य ३२ संरचनामा क्षति पुग्दा १८ करोड ९० लाख बराबरको क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ६० घर, १४ गोठ, अन्य २२ संरचनामा क्षति पुग्दा तीन करोड ७७ लाखको क्षति भएको विपद् व्यवस्थापन समितिले जनाएको छ । सोही अवधिमा जिल्लामा ४२ जनाले ज्यान गुमाएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७९/०८० सम्म ४२ जनाको विपद्बाट मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/७६ मा तीन, २०७६/०७७ मा १२, २०७७/०७८ मा १०, २०७८/०७९ मा दुई र आर्थिक वर्ष २०७९/०८० मा १५ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ६३ जना घाइते भएका थिए ।

समितिले विभिन्न प्रकोपका कारण सामाजिक तथा मानवीय जीवनमा आइपर्ने विपद्लाई थेग्न तथा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अतिआवश्यक भएकाले प्रत्येक वर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयमा ल्याएको छ । विपद्ले समुदायको आर्थिक, सामाजिक तथा मानवीय जीवनमा पुर्‍याउन सक्ने क्षतिलाई न्यूनीकरण गरी विपद्पछि छिटोभन्दा छिटो पूर्ववत अवस्थामा ल्याउन प्रतिकार्य योजना प्रभावकारी हुने विश्वास गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार १० पालिकाका अधिकांश वडा बाढी पहिरोको जोखिममा छन् । पहिरोको प्रकोपको आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेको छ । बाढीको प्रकोपको आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिकाका उच्च जोखिममा छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘मनसुनको समयमा घट्न सक्ने विभिन्न प्रकोपका घटना र यसबाट सिर्जना हुने विपद्को अवस्थामा तत्काल खोज, उद्धार तथा राहत वितरण लगायतका कार्य गर्न कार्ययोजना बनाएर अगाडि बढेका छाैं ।’ यो योजनाले मनसुनका कारण उत्पन्न हुने जोखिमको पूर्वानुमान गरी न्यूनीकरणमा सहयोग पुग्ने, राहत संकलन एवं उद्धारका लागि सरकारी एवं गैरसरकारी निकायको अधिकतम परिचालन हुने, मनसुनका कारण उत्पन्न हुनसक्ने विपद् प्रतिकार्यका लागि सम्बद्ध निकाय तयारी अवस्थामा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्