Logo

दमाममा निगमको उडान सुरु

फाइल तस्बिर ।

काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले भदौ २० बाट काठमाडौं–साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । निगमको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रातिको १० बजेर ४० मिनेटमा उडान भरेको थियो ।

पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कंदा १ सय १७ जना यात्रु रहेका थिए । काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान भर्ने निगम प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘यात्रुको मागका आधारमा उडानको संख्या बढाउँदै लैजाने योजना छ ।’ निगमले यसअघि सन् २०२२ को अप्रिलमा काठमाडौं–रियाद–काठमाडौं व्यावसायिक उडान सुरु गरेको थियो ।

नेपाली श्रमिकको महत्त्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले तत्कालीन समयमा हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भनेको थियो । साउदी अरेबियाको रियाद र दमाममा हुने उडानले विशेष गरेर वैदेशिक रोजगारमा जाने यात्रुका लागि सहज हुने अपेक्षा निगमले गरेको छ । निगमले हाल भारतको दिल्ली, मुम्बई, बैंगलोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ ।

नयाँ गन्तव्यका रूपमा साउदी अरेबियाको दमामसहित अब ८ मुलुक गरी एक दर्जन गन्तव्यहरूमा उडान सञ्चालन गर्दै आएको छ । हाललाई भने निगमकले रियादमा उडान बन्द गरेको छ । निगमको काठमाडौं–दमामको सीधा उडानले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सस्तो र सुलभ भाडादरमा यात्रा गर्न सहज हुने जनाएको छ । नेपालबाट दमामतर्फ भाडा ३५ हजार रुपैयाँ र दमामबाट काठमाडौंको भाडा ५ सय ९५ साउदी रियाल तोकिएको छ ।

उल्लिखित गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको छ । साउदी अरबबाट नेपाल आउने पर्यटकहरू न्यून रहेका छन् । आर्थिक वर्ष ०७९/८० मा १ लाख १२ हजार नेपाली वैदेशिक रोजगारका लागि साउदी अरब गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्