पुरानै कार्यक्रमलाई निरन्तरता
प्राधिकरणको बजेट ३६ अर्ब ६६ करोड

काठमाडाैं– नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँको बजेट ल्याएको छ । प्राधिरकणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित गरेको हो । पूर्वाधार विस्तार, विमानस्थल सञ्चालन यात्रु सेवा सुविधाका लागि जोड दिएर बजेट ल्याइएको प्राधिकरणका उपमहानिर्देक जगन्नाथ निरौलाले बताए ।
‘प्राधिरकणले ३६ अर्ब ६६ करोड रूपैयाँको बजेट ल्याएको हो’ उनले भने, ‘चालु खर्चतर्फ ७ अर्ब रुपैयाँ, पुँजीगत खर्चमा १९ अर्ब ३ करोड रूपैयाँ र वित्तीय व्यवस्थातर्फ १० अर्ब रूपैयाँ छ ।’ बजेटमा नयाँ केही कार्यक्रम नरहेको र पुरानै कार्यक्रमलाई निरन्तरता दिएको जनाइएको छ । महेन्द्रनगर, विराटनगर, नेपालगञ्ज, जुम्ला, रारा, भरतपुर, रामेछापमा नयाँ टर्मिनल भवन निर्माणको कामलाई निरन्तरता दिइने छ ।
साथै भोजपुरको विमानस्थलको टर्मिनल भवनसमेत निर्माण हुने छ । महेन्द्रनगरमा भने टर्मिनल तथा धावनमार्ग विस्तारको काम पनि यही आर्थिक वर्षमा निरन्तरता दिइएको छ । प्राधिकरणले पोखरा विमानस्थलको भुक्तनी गर्न बाँकी छ भने भौरहवामा नयाँ प्यासेन्जर टर्मिन भवन निर्माणलाई निरन्तरता दिएको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा स्तरोन्नति अन्तर्गत भइरहेको ट्याक्सी वे, एप्रोन तथा ह्याङगर निर्माणलाई निरन्तरता दिने जनाएको छ । राजविराज, तुम्लिङटार, जनकपुर र सिमरा विमानस्थललाई नयाँ फायर भेकल खरिदका लागि पनि यसै वर्ष प्रकृया अगाडि बढाउने प्रवक्ता निरौलाको भनाइ छ । प्रतिफायर भेकल करिब १३ करोड रुपैयाँ पर्ने जनाइएको छ ।
प्राधिरणसँग हाल ६ अर्ब ७ करोड मौज्दात रहेको जनाएको छ भने नेपाल सरकारबाट करिब ९ अर्ब ६४ करोड रुपैयाँ प्राप्त गर्ने बाँकी रहेको र विभिन्न पूर्वाधारका लागि ५ अर्ब पेश्की भुक्तानी भएको जनाएको छ । गत आर्थिक वर्षमा खुद आम्दानी १३ अर्ब ३९ करोड राजस्व संकलन गरेको प्राधिकरणले चालु आर्थिक वर्षमा १५ अर्ब ८८ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०७९/८०को लागि ४१ अर्ब ८५ लाखको बजेट विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ४३ अर्ब ६७ करोड विनियोजन गरेको थियो । प्राधिकरणको खुद आम्दानी १४ अर्ब ३२ करोड, सरकारको ऋण तथा सेयरबाट १२ अर्ब २४ करोड, सरकारबाट प्राप्त हुनुपर्ने ८६ करोड, मूल्यअभिवृद्धिको फिर्ताबाट ३ अर्ब १ करोड, पेश्की मौज्दात ३ अर्ब ५ करोड, र बैंक मौज्दात ८ अर्ब ३५ करोड रुपैयाँ गरी ४१ अर्ब ८५ करोड रुपैयाँ प्राधिकरणको आम्दानी हुने आंकलन गरेको थियो ।
गत वर्षको बजेटमा विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, प्राधिकरण संस्थागत सुधार, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, मानव संशाधन विकास, गैरउडान आयवृद्धिमा बजेटले प्राथमिकता दिएको छ । बजेटमा पुँजीगत खर्चमा २६ अर्ब ८२ करोड, अन्य कार्य सञ्चालनमा ३ अर्ब ५७ करोड, कर्मचारी बोनसमा ४ करोड रुपैयाँ विनियोजन गरेको थियो ।