सिटी हल चलाउन दुई सझाव

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको सिटी हल सञ्चालनका लागि गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निजी क्षेत्र, नगरपालिका कार्यालयले आफैं सञ्चालन गर्ने वा नगरपालिका र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सकिने विकल्प समावेश गरिएको छ ।
पाँच वर्षअघि निर्माण सकिएको उक्त सिटी हल सञ्चालनका लागि असारमा भीमदत्तले कलकबहादुर सिंहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले राजनीतिक दल, जनप्रतिनिधि, उद्यमी व्यवसायीलगायतका सरोकारवालासित गरिएको छलफलबाट आएको सुझावका आधारमा उक्त प्रतिवेदन तयार पारी नगरपालिकालाई बुझाएको हो । त्यसैगरी नगर विकास समितिले ८ करोड खर्च गरी पाँच वर्षअघि सिटी हल निर्माण सकेको थियो ।
सिटी सञ्चालनको मापदण्ड नहुँदा अहिलेसम्म सञ्चालन आउन नसकेको हो । २०६५ मा श्याम सुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी ६ करोड ८१ लाख रुपैयाँमा लिएको ठेक्का पाँच पटक म्याद थप गरिएको थियो । साढे पाँच बिघा जमिनमा निर्माण गरिएको सिटी हल एक हजार जना अटाउने क्षमताको छ । तीनतले सिटी हलभित्र चेन्जिङ रुम, अन्डरग्राउन्डलगायतका संरचना बनाएका छन् ।
भीमदत्त नगर विकास समितिका अध्यक्ष तथा नगरपालिकाका मेयर पदम बोगटीलाई बुझाएको उक्त प्रतिवेदनमा सिटी हल नगरपालिका आफैंले वा निजी क्षेत्रलाई दिएर सञ्चालन गर्न सकिनेलगायतका विकल्प समावेश गरिएका छन् । कार्यदलका संयोजक सिंहले सरोकारवालासित गरिएको छलफलबाट आएका सुझावका आधारमा प्रतिवेदन तयार गरी बुझाएको हो ।
उनले भने, ‘सिटी हल के–कसरी सञ्चालन गर्न सकिन्छ भनेर कार्यदल गठन गरिएको थियो, त्यसअनुसार सिटी हलसँग सरोकार राख्ने पक्षसँग छलफल गरी उक्त प्रतिवेदन तयार गरिएको हो, उक्त प्रतिवेदनमा ती सबैका सुझाव समटेर नगरपालिकालाई बुझाएका छौं ।’ त्यसैगरी कार्यदल संयोजक सिंहका अनुसार उक्त प्रतिवेदनमा सिटी हल निजी क्षेत्र, नगरपालिका कार्यालयले आफैं सञ्चालन गर्ने वा नगरपालिका र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न सकिने विकल्प समावेश गरिएको छ ।
उनले भने, ‘सिटी हल पूरै निजी क्षेत्रलाई दिने वा केही भाग दिने, नगरपालिकाले आफैंले चलाउन सक्ने, नगरपालिका र निजी क्षेत्रबीच साझेदारीमा चलाउन सक्नेलगायतका विकल्प दिएर उक्त प्रतिवेदन तयार गरेका छौं ।’ उक्त कार्यविधि बनाएर नगरपालिकाले अघि बढ्नुपर्ने संयोजक सिंहले बताए । सिंहको नेतृत्व कार्यदलमा कार्यपालिका सदस्य सीता भण्डारी, नगरपालिकाका अधिकृत नरेन्द्रदेव भट्ट, इन्जिनियर जयराज भट्ट र सब इन्जिनियरिङ पवनचन्द्र लेखक सदस्य रहेका छन् ।
कार्यदलले देशका अन्य स्थानमा सञ्चालित तथा र निर्माणाधीन सिटी हलहरूको स्थलगत अध्ययन गरेको थियो । उनीहरूले बुटबल, पोखरा सुर्खेतका सिटी हलको स्थलगत अध्ययनसमेत गरेका हुन् । तीमध्ये सुर्खेतबाहेक पोखरा र बुटवलमा सिटी हल सञ्चालनमा रहेका छन् भने सुर्खेतको सिटी हल निर्माणाधीन भएकाले अझै सञ्चालन हुन सकेको छैन । कार्यदलका संयोजक सिंहले स्थलगत अध्ययन गरिएकामध्ये बुटवलको सिटी हल व्यवस्थित रूपमा सञ्चालन भएको पाइएको बताए ।
त्यसैगरी सहरी विकास मन्त्रालयले उक्त सिटी हल सञ्चालन गरिरहेको छ । बुटवलमा ६ घण्टाका लागि १ लाख ४५ हजार भाडा तोकिएको छ । उक्त प्रतिवेदनमा सिटी हलको गुरुयोजना नबिगार्ने गरी सञ्चालन गर्न सकिने उल्लेख छ । गुरुयोजनाअनुसार सिटी हलबाहेक दुईवटा पार्किङ, स्वीमिङ पुल, अतिथि गृह निर्माणका सबै काम बाँकी छन् ।
तत्कालीन महेन्द्रनगर नगर विकास समितिले सिटी हल बनाउनमात्रै ठेक्का दिएकाले गुरुयोजनाअनुसार अन्य काम हुन नसकेका हुन् । सिंहले उक्त प्रतिवेदनमा यो गुरुयोजना नबिगार्ने गरी सञ्चालन गर्न सकिने सुझाव दिएको बताए । उनले भने, ‘गुरुयोजनामा सिटी हल प्रवेशद्वार नजिक एउटा र स्वीमिङ पुल नजिक अर्को पार्किङसमेत समावेश गरिएको छ ।’