जाने होइन तिम्बुङ पोखरी ? «

जाने होइन तिम्बुङ पोखरी ?

पाँचथर र ताप्लेजुङको सिमानामा रहेको उच्च लेकाली क्षेत्र हो तिम्बङु पोखरी । हिमाललाई नजिकबाट जिस्काइरहेको जस्तो देखिने यो पोखरी धार्मिक क्षेत्रसमेत हो । समुद्र सतहबाट ४ हजार ४ सय ८० मिटरको उचाइमा रहेको तिम्बङु पोखरी भ्रमणको सिजन सुरु भएको छ । नेपाल भारत सिमाना नजिक रहेको तिम्बङु पोखरी अनुपम प्राकृतिक सुन्दरता, उच्च पहाडी रमणीय क्षेत्र, हिमालका टाकुरालाई सामुन्नेमा हेर्न सकिने धार्मिक महिमाले अब्बल मानिन्छ । पाँचथर र ताप्लेजुङको सीमामा पर्ने यो पोखरी यहाँको पर्यटकीय सम्भावना र यसको धार्मिक महत्वका विषयमा अन्य पर्यटकीय क्षेत्र जसरी प्रचार प्रसार समेत हुन सकेको छैन ।
उच्च हिमालमा पाइने विभिन्न प्रजातिका फूल तथा वनस्पतिहरुले मन लोभ्याउँछ । केन्जो लगायतका वनस्पतिहरुको अनुपम सुनदरताले पोखरी मनमोहक देख्न सकिन्छ । बाटोमा भेटिने भेडी गोठ र गोठमा पाइने परिकारहरुले लोभ्याउँछ । तिम्बुङ पोखरीलाई पूर्वको गोसाइँकुण्डको रुपमा समेत चर्चा गर्ने गरिएको छ । धार्मिक पर्यटक तथा घुमन्तेहरुको लागि यो स्थान उपयुक्त स्थान हो ।
पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगम स्थलमा रहेको तिम्बुङ यात्राको सिजन असारको सुरुदेखि आरम्भ भएर भदौ महिनासम्म चल्छ । भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी र भेडा गोठाला चौँरी र भेडा लिएर बेँशीतिर झर्छन् । तिम्बङु पोखरी क्षेत्रमा धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकहरु कम्तिमा साता लामो भ्रमणका लागि निस्कनु पर्दछ ।
चट्टानयुक्त पहाड र ठूला ठूला समथर मैदानले तिम्बुङ पोखरीको यात्रालाई आनन्दायक र मनमोहक बनाउँछ ।
ठूला समथर मैदान, पानीका स–साना खोला खोल्सी, सँगै भेटिने चौरी, याक, तोले, उराङ, भेडा, बाख्रा लगायतका हिमाली जनावरको चरन उत्तिकै मनमोहक हुने गर्दछ ।
गोठाला र पशुको सुरक्षाका लागि पालिएका महँगा हिमाली कुकुरको गर्जन पूरा पहाड कापेको महशुस हुने गर्दछ । यी आकर्षणलाई भेट्न कठिन भूगोल पार गर्नु पर्दछ । यहाँको धार्मिक र ऐतिहासिक पक्षका विषयमा पर्याप्त खोजी हुन सकेको छैन ।
पाँचथरकोे उच्च पहाडी स्थलमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र तिम्बुङ पोखरी जाने क्रम शुरु भएको छ । पाँचथरको च्याङथापु हुँदै तिम्बुङ पोखरीसम्म पुग्ने पर्यटकका तथा तिर्थ यात्रीका लागि साउन अन्तिमदेखि नयाँ सिजन सुरु हुने गर्छ ।
भदौपछि भने तिम्बुङपोखरीका लागि यात्रा गर्न समस्या हुने गरेको स्थानीय कृष्ण प्याकुरेलले जानकरी दिए । पाँचथर र इलामको संगमस्थल सन्दकपुरबाट तिम्बुङ पोखरीसम्मको पदमार्ग विस्तारको चर्चा चलेपनि कम भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्