लगानी विस्तार गर्न ऐन बाधक

नगारिक लगानी कोषलाई तत्काल लगानी विस्तार गर्न नागरिक लगानी कोष ऐन नै बाधक भएको छ । लगानी विस्तार गर्न नपाउँदा कोषले बचतकर्ताको रकम बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा राखेको छ ।
नागरिक लगानी कोष ऐन धेरै पुरानो भएकाले लगानी गर्न चाहेर पनि नसकेको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोख्रेलले बताए । “लगानी विस्तार गर्ने गरी ऐन संशोधनको प्रक्रियामा छ,” उनले भने, “संशोधनका लागि तयार पारिएको ऐनको मस्यौदा अर्थ मन्त्रालयले स्वीकृत गरेको छ, नयाँ संसद् सुरु भएपछि संसद्बाट पनि स्वीकृत होला ।” ऐन संशोधन भएर आएपछि कोषले विभिन्न योजना बनाएर लगानी गर्ने उनले बताए । हाल मर्चेन्ट बैंकिङको काम पनि सहायक कम्पनीमार्फत नभई एउटा विभागका रूपमा काम गर्दै आएको पोख्रेलले जानकारी दिए ।
चालू आर्थिक वर्षको पुससम्ममा कोषमा १ खर्ब १ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ मौज्दात छ । गतआवको पुस मसान्तसम्ममा कोषमा ८५ अर्ब २६ करोड रुपैयाँ मौज्दात थियो ।
कोषले सो अवधिमा १८ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा करिब २ करोडले धेरै हो । गत आवको सो अवधिमा कोषको नाफा १६ करोड १३ लाख रुपैयाँ थियो ।
कोषले गत आवमा केन्द्रीय आम्दानी ६० करोड ८ लाख ४८ हजार रुपैयाँ गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम २१.२८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कोषको केन्द्रीय आम्दानी ४९ करोड ५४ लाख ३० हजार रुपैयाँ थियो ।
कोषले चालू आवको पुस मसान्तसम्ममा करसहितको खुद नाफा ४० करोड २७ लाख ५५ हजार रुपैयाँ गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कोषले ३२ करोड ६७ लाख २८ हजार रुपैयाँ करसहितको खुद नाफा गरेको थियो ।