Logo

पर्यटन प्रवर्द्धन गर्न स्वीडिस सांसदसँग आग्रह

काठमाडौं– नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न स्वीडिस सांसदहरुसँग आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको स्वीडिस सांसदहरुको टोलीसँग सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित भेटघाट कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मीले दुवै देशबीच सहकार्यका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

उनले लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा नेपाल रहेको कारण नेपालको युरोपसँग सिधा उडान हुन नसकेको बताए । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेकोले त्यस बारेमा पहल गरिदिन सांसदहरुलाई उनले आग्रह गरे । ‘नेपाल नेचर, कल्चर र एडभेन्चरका लागि विश्वभरकै पर्यटकका लागि आर्कषणको केन्द्र हो । धेरै युरोपियनहरु नेपालको साहसिक पर्यटनमा आउने गरेका छन्’ रेग्मीले भने ।

हवाई सुरक्षाबारे नेपाल सरकार गम्भीर रहेर आफ्ना काम गरिरहेको सन्दर्भमा युरोपियन आकाशको प्रतिवन्ध हटाउनेतर्फ महत्वपूर्ण भूमिका खेल्न पनि रेग्मीले आग्रह गरे । उनले भने,‘त्यसो भयो भने स्वीडेनकातर्फबाट नेपालीका लागि ठूलो उपहार हुने छ ।’ स्वीडेन डेभलपमेन्ट को–अपरेशसन एजेन्सिज (सिडा) सँग नेपालको पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि आवश्यक समन्वयका लागि टोलीसँग उनले आग्रह गरे ।

भेटका अवसरमा स्वीडेनका सांसद मारिया स्टोकाउजले नेपाल लामो समयदेखि युरोपियन युनियनको सेफ्टी लिस्टमा रहेको विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको उल्लेख गरिन् । उनले यस विषयमा आफ्नो तर्फबाट थप पहल गर्ने आवश्वासन दिइन् । यस्तै सांसदद्वय एलेक्जेन्ड्रा एनेष्ट्रिल, सोफिया ल्याभेन्गेजले नेपालको पर्यटन विकासका लागि स्वीडेन सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका क्षेत्रहरु पहिचान गरि आवश्यक पहल गर्ने बताएका छन् ।

स्वीडेनका लागि नेपाली महावाणिज्यदूत मौषमी श्रेष्ठले स्वीडेनका सांसदहरुको भेटवार्ताले नेपाल र स्वीडेनबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिन् । बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमका अनुसार स्वीडेनबाट सन् २०१९ मा करिब ४० हजार पर्यटकले नेपाल भ्रमण गरेको थिए भने सन् २०२३ को जनवरी देखि जुलाईसम्म १४ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्