चुलाचुली गाउँपालिकामा ‘बुहारी शिक्षा’ «

चुलाचुली गाउँपालिकामा ‘बुहारी शिक्षा’

इलाम– स्थानीय सरकारले स्थानीय जनताका साना साना विकासका अपेक्षा पूरा गर्नु पर्दछ । ठूला ठूला महल बनाउँदा मात्र विकास हुने हैन । जनतालाई शिक्षित गराउनु नै पहिलो विकास हो भन्ने बुझेका चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले शिक्षा नयाँ कार्यक्रम भित्र्याएका छन् ।

गाउँपालिकामा ‘बुहारी शिक्षा’, विद्यालयलाई नि:शुल्क बस वितरण, गाउँपालिकामा पढ्दै कमाउँदै कार्यक्रम सुरु भएसँगै गाउँपालिका अध्यक्ष केरुङको शिक्षा क्षेत्रमा नाम कहलिएको छ । उनले भने, ‘स्थानीय सरकारले जनताको प्रत्यक्ष पीरमर्का बुझेर काम गर्नु पर्दछ भन्ने राम्ररी बुझेको छु ।’ केरुङले अध्यक्ष निर्वाचित भएर आएपछि यो कार्यक्रम सुरु गरेका हुन् ।

चुलोचौकामा मात्र सीमित रहेका बुहारीलाई शिक्षादिक्षा दिए मात्र परिवार समृद्ध बन्ने भएकाले गाउँपालिकाले यो कार्यक्रम थालेको अध्यक्ष केरुङले बताए । एउटी आमा शिक्षित भएमात्र छोराछोरी शिक्षित हुने भएकाले पनि यो कार्यक्रम थालिएको उनले बताए । उच्च शिक्षाको दायित्व स्थानीय सरकारले लिने गरि सो कार्यक्रम सुरु गरिएको अध्यक्ष केरुङको भनाइ छ ।

उनले गाउँपालिकामा बुहारी शिक्षा सुरु गरेदेखि ०६१ सालमा एसएलसी पास गरेर अध्ययन छोडेकी कमला भट्टराई (ढुंगाना) १८ वर्ष पछि कक्षा ११ मा भर्ना भएकी छन् । उनी गएको वर्षदेखि कक्षा ११ मा भर्ना भएकी हुन् । इच्छाशक्ति भए गर्न सकिन्छ भन्ने उदाहारणसमेत बनेकी उनी कक्षामा राम्रो अंकका साथ कक्षा ११ उत्तीर्ण भइन् । नतिजाले आफूलाई सन्तुष्टि जागेको कमलाको भनाइ छ । परिवारको साथ, विद्यालयको हौसला र समाजको समेत प्रेरणा मिलेको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘बिबाहसँगै पढाई टुंगिएको महसुस भइरहेको थियो गाउँपालिकाले बुहारी शिक्षा सुरु गर्‍यो अनी पढ्न आएँ ।’ गाउँपालिकाले गएको वर्षदेखि ‘बुहारी शिक्षा’ सुरु गरेको हो । यो शिक्षा सुरु भएदेखि विवाहसँगै पढाई छोडेकालाई राहत भएको छ । कमला जस्तै अन्य पाँच जना पनि नि:शुल्क अध्ययन गरिरहेका छन् । गाउँपालिकाले विवाहपछि अध्यापन गर्न चाहने बुहारीलाई नि:शुल्क शिक्षा सुरु गरेको छ ।

यो शिक्षासँगै यहाँका बुहारीसमेत अध्ययनमा आउन थालेका छन् । पहिलो वर्ष नै गाउँपालिकाभित्र पाँच जना बुहारी भर्ना भएर अध्ययन गरिरहेको गाउँपालिका शिक्षा शाखाका प्रमुख राम मिश्रले बताए । उनले हाल कक्षा ११ को भर्ना चलिरहेकाले यस वर्षसमेत बुहारीहरु भर्ना हुँदै गरेको बताए । गाउँपालिकाभित्र रहेका बुहारीले जनता मावि चुलाचुली दुई, बालज्योति मावि चार, र राष्ट्रप्रेमी मावि चुलाचुली ६ फुङ्नाम गरी तीनवटा विद्यालयमा अध्ययन गरिरहेका छन् ।

विभिन्न कारणले पढाइ छोडेका महिलाहरु घरको कामसँगै अध्ययन गर्न आउन थालेसँगै गाउँपालिकाको यो कार्यक्रमसमेत सफल बन्दै गएको छ । ६ वटा वडा रहेको यस गाउँपालिकामा जम्मा २० वटा सामुदायिक विद्यालय र ७ वटा निजी विद्यालयहरु सञ्चालित छन् । गाउँपालिकाले जनता माविलाई बससमेत वितरण गरेको छ । यस विद्यालयमा सिभिल इन्जिनियरिङको कक्षासमेत सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्