पहिरोको जोखिममा खानीगाउँ

गोरखा– गोरखाको धार्चे गाउँपालिका ७ लापूको खानीगाउँ पहिरोको जोखिममा परेको छ । २०७२ सालको भूकम्पपछि पहिरोको उच्च जोखिममा परेको खानीगाउँमा केही दिनयता पहिरोले बाटोघाटो, खानेपानीको पाइपलाइनलगायत संचरना बगाएपछि त्यहाँका बासिन्दाको जनजीवन अस्तब्यस्त भएको छ । पछिल्लो चार दिनदेखि बस्ती आसपास फेरि पहिरो जान थालेपछि त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेको स्थानीय जिर्दा गुरुङले बताए ।
‘पहिरोको कारण यहाँको ३२ घर उच्च जोखिममा छ’ उनले भने, ‘गाउँलेहरु राती घरमा बस्दैनन् । बेलुका खाना खाएर छिमेकीको घर र स्थानीय गोरखनाथ आधारभूत विद्यालय आसपास बस्ने गरेका छन् ।’ उनीहरु बस्दै आएको गोरखनाथ आधारभूत विद्यालय नजिकैको जमिनमा पनि चिरा पर्न थालेको छ । बस्तीको सबैभन्दा माथिको जमिन पनि चिरिएपछि बाँकी घरधुरी पनि त्रासमा रहेका गुरुङले बाए । सो गाउँमा करीव ११३ घरधुरीको बसोबास रहेको छ ।
पहिरोले वितरण प्रणालीमा क्षति पुर्याएपछि बस्तीमा खानेपानीको पनि अभाव हुन थालेको छ । गाउँबाट डेढघण्टा माथिको मुहानबाट ल्याइएको खानेपानीको पाइपलाइन पहिरोले बगाएपछि खानीगाउँभर पानीको अभाव हुन थालेको हो । पहिरो प्रभावित क्षेत्रमा गाउँपालिकाकी उपाध्यक्ष सुनीला गुरुङसहितको टोलीले स्थलगत अनुगमन गरी पहिरो प्रभावितलाई १२ थान त्रिपाल उपलब्ध गराएको छ । तर त्यो पर्याप्त नभएको खानीगाउँबासीका गुनासो छ ।
प्रदेश सरकारको सहयोगमा गत वर्ष पहिरोको जोखिम भएको क्षेत्रमा ग्याविन जाली लगाएपनि ठाडो खोलाको बाढीले बगाएको स्थानीयले बताएका छन् । भूकम्प लगत्तैदेखि पहिरोको जोखिममा परेको सो गाउँमा हरेक वर्ष पहिरो बढ्ने क्रम चलिरहेको स्थानीय बासिन्दा जिते गुरुङले बताए । धार्चे गाउँपालिका ७ लापूको खानीगाउँको पूरै बस्ती २०७२ सालको भूकम्पयता पहिरोको उच्च जोखिममा छ । स्थानीय दुङस्योङ खोलाले माटो कटान गर्दै जाँदा बस्तीसम्मको जमिन चिरिएको अर्का स्थानीय पुनराम गुरुङले बताए ।
तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणका भूगर्भविद्हरुले खानीगाउँको पूरै बस्ती पहिरोको उच्च जोखिममा रहेको ठहर गर्दै स्थानान्तरण गर्नुपर्ने बताएका थिए । स्थानीय बासिन्दाले पनि पुरानो गाउँमा फेरि बस्न नसकिने भएकाले सुरक्षित ठाउँमा सारिदिन माग गर्दै आएका छन् । खानीगाऊँ र खानीबेसीबीचको कोलडाँडामा पहिरोको डर नभएकाले त्यहीँ स्थानान्तरण गर्नु राम्रो हुने स्थानीयको माग छ । तर वर्षेनी बर्खायाममा जोखिम बढेपछि मात्रै बस्ती स्थानान्तरणको कुरा उठ्ने गरेको छ । बस्तीको बिचसम्मकै जमिन चिरिएकाले ढुक्कले बस्ने अवस्था नरहेको स्थानीय बासिन्दा जिर्दा गुरुङले बताए ।