निजी क्षेत्रको सक्रियता «

निजी क्षेत्रको सक्रियता

वीरगन्ज – प्रदेश नम्बर २ को आर्थिक विकासको प्रमुख आधारको रुपमा लिइएको पर्यटन पर्वद्धन गर्न निजी क्षेत्र सक्रिय भएको छ । आर्थिक तथा औद्योगिक सहर वीरगन्जबाट पर्यटन प्रवद्र्धनको शुरुवात गरी प्रदेश २ मा नै पर्यटनको विकास गरी आर्थिक समृद्धिमा लैजाने उद्देश्यले यो पहल शुरु गरिएको हो ।
वीरगन्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्यटन प्रवद्र्धनका लागि नेपाल चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघको सहआयोजनामा वीरगन्जमा असोज १ गतेदेखि ३ गते सम्म नेपाल चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ । आर्थिक विकासको प्रमुख आधारमध्ये पर्यटन क्षेत्रबाट पनि प्रदेश नम्बर २ को आर्थिक विकास गर्न सकिने प्रचुर सम्भावना भएकोले त्यसलाई प्रवद्र्धन गर्नका लागि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग आइतबार वीरगन्ज उद्योग वाणिज्य संघले छलफल गरेको छ ।
संघको सहकार्य एवम् होटेल तथा पर्यटन व्यवसायी संघको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धनका लागि वीरगन्जमा राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने तयारी गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि गौतम, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुबीच पनि आइतबार छलफल भएको छ ।
निजी क्षेत्रको पहलमा चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डको सहआयोजनामा वीरगन्जमा पहिलो पटक आयोजना हुने महोत्सवले प्रदेश नम्बर २ को मौलिक भाषा, संस्कृतिको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा हुन लागेको चलचित्र महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका झाँकी, विभिन्न समुदायका भेषभूषा तथा संस्कृति झल्किने चलचित्र तथा पोशाकहरुको पनि प्रदर्शनी हुने भएकोले यो महोत्सव पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।
पछिल्लो समयमा वीरगन्ज लगायतका आसपासमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरु नेपाली तथा भोजपूरी र हिन्दी चलचित्रको छायांकन स्थलको केन्द्र बन्दै गएकोले पनि यहाँ चलचित्र महोत्सव सफल हुने पन्तको दावी छ । हिमाल, पहाड, तराई सबैको अपनत्व महसुस हुने यो महोत्सव सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको पनि होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तको भनाइ छ ।
प्रदेश नम्बर २ मा बढी प्रचलनमा रहेको भाषामध्ये भोजपुरी, मैथली र बज्जिका भाषाका चलचित्र र नेपाली चलचित्रहरु मात्रै नभई माध्यम भाषाको रुपमा रहेको हिन्दी चलचित्रहरु पनि धेरै छायांकन भएको प्रदेश नम्बर २ का विभिन्न स्थलहरुको पहिचान स्थापित गर्नलाई पनि राष्ट्रिय फिल्म महोत्सव महत्वपूर्ण हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।
पहिलोपटक हुन लागेको महोत्सवले स्थानीय लोक संस्कृति, भाषा, भेषभूषाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्र महोत्सवले वीरगन्जको आन्तरिक मात्रै नभई बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास निजी क्षेत्रको रहेको छ । यसअघि औद्योगिक व्यापार मेलाहरुमा मात्रै सांस्कृतिक कार्यक्रमहरु हुँदै आएकोमा अब चलचित्र महोत्सव नै हुने भएपछि यसले सबै क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउने र प्रदेश तथा राष्ट्रको नै अर्थतन्त्रमा सुधार ल्याउन सकिने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।
प्रदेश नम्बर २ मा ऐतिहासिक, धार्मिक तथा रमयणीय पर्यटकीय स्थलहरु पनि रहेकोले समग्रमा यसको प्रवद्र्धन गर्न सके प्रदेश २ को आर्थिक समृद्धि सहज रुपमा हासिल गर्न सकिने सम्भावनाहरु रहेका छन् । पछिल्लो पटक निजी क्षेत्रको सक्रियताले पनि यहाँको पर्यटन प्रवद्र्धनमा अझ बढी महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । खासगरी यसक्षेत्रमा नै छायांकन गरिएको भोजपुरी भाषाका चर्चित चलचित्रहरु र नेपाली भाषाका चलचित्रहरुको प्रदर्शनीपछि बजार राम्रो पाएकोले पनि चलचित्र महोत्सव सफल हुनेमा वीरगन्जका पर्यटन व्यवसायीहरु आशावादी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्