Logo

मन्त्रीहरूसँग प्रधानमन्त्रीको कार्यसम्पादन सम्झौता

सुशासनको प्रत्याभूति गर्ने अवस्था आएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ का लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

मन्त्री र कर्मचारीको मासिक रिपोर्ट कार्डको आधारमा पुरस्कार र कारबाही हुने उनले बताए । सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समीक्षा पनि भएको छ । त्यसपछि प्रधानमन्त्रीले आफ्नो कार्ययोजनामा उल्लेख भएअनुसारको लक्ष्य हासिल गर्ने मन्त्री, सचिव र विभागीय वा आयोजना प्रमुखलाई पुरस्कृत गरिने र नगर्नेलाई जिम्मेवारी फेरबहदल गर्ने वा कारबाही गरिने जानकारी दिए ।

त्यस्तै उनले समाजका सबै क्षेत्रमा सकारात्मक भाष्य र सरकारप्रतिको भरोसा बढेर गएको भन्दै जनताले सुशासनको प्रत्याभूति गर्ने अवस्था सिर्जना भएको दावीसमेत गरेका छन् । प्रधानमन्त्री दाहालले भने, ‘मन्त्री, सचिव र आयोजना प्रमुखले आफू मातहतका आयोजना तोकिएको समयमा सम्पन्न गर्न र प्रभावकारी कार्यान्वयनमा पूर्ण उत्तरदायित्व वहन गर्दै नतिजा हासिल हुनेगरी कार्यसम्पादन गर्न निर्देशित गर्दछु ।’

मन्त्री, सचिव र आयोजना प्रमुखहरूलाई मूल्यांकनको आधारमा मासिक रूपमा गरिने र त्यसको गुणात्मक प्रगतिसहितको मासिक रिपोर्ट कार्ड तयार गरिने प्रधानमन्त्री दाहालको भनाइ थियो । आफूले आयोजनामा देखिएका समस्या फुकाउन नसके प्रधानमन्त्री कार्यालय आउन भन्दै उनले समस्या समाधान गर्न आफू तयार रहेको बताए ।

निर्णयमा जोखिम हुन्छ भनेर झुलाउने काम नगर्न पनि प्रधानमन्त्री दाहालले कर्मचारीलाई निर्देशन दिए । राम्रो काम गर्ने कर्मचारीलाई सरकारले साथ दिने भन्दै उनले विकासका काममा बाधा पुर्‍याएमा कारबाही गरिने चेतावनी पनि दिए । विकास निर्माणका योजना कार्यान्वयन र निर्णयमा झुलाउने काम गर्दा झन् जोखिम हुने उनको भनाइ थियो । प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्