सिद्धबाबा धाममा आर्थिक अनियमितता

बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको तल्लो सिद्धबाबा धाममा दाताबाट रसिद काट्ने क्रममा अनियमितता भएको पाइएको छ । एउटै नम्बरको रसिदमा दुई थरी रकम उल्लेख भएको सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो ।
रसिद काट्दा दातालाई दिने पन्नामा १ हजार १०५ उल्लेख भएको तर कार्वन मुनि प्रतिछायाँ पान्नामा ५०५ रुपैयाँ मात्र लेखिएको छ । यसप्रकारका ३ वटा रसिद सामाजिक सञ्जालमा आएपछि धाम विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गरेको हो ।
रसिदमा अनियमितता भएपछि धामका सहायक पुजारी भुवन ज्ञवाली र कर्मचारी तारानाथ उपाध्यायलाई निलम्बन गरिएको समितिले जनाएको छ । चार पटकसम्म स्पष्टीकरण सोधेरै दुई जनालाई निलम्बन गरिएको समितका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले बताए । रसिद सामाजिक सञ्जालमा शनिवार आए पनि त्यस सम्बन्धमा पहिले नै जिल्ला प्रशासन कार्यालय हुँदै अख्तियारमा उजुरी परेको थियो ।
प्रशासन कार्यालयबाट पत्र आएपछि आफूहरुले रसिदबारे जाँचबुझ गरेको पत्रकार सम्मेलनमा बताइएको थियो । रसिदमा लेखिएको अक्षर सिद्धबाबा धामका सहायक पुजारी भुवन ज्ञवालीका छोरा विकास ज्ञवालीको भएको पत्ता लागेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । ‘‘विकासले रसिदमा लेखिएको अक्षर आफ्नो भएको तर रकम भने कर्मचारीले लेखेको हामीसँग बताएका छन् ।’’ उनले भने, ‘‘त्यसैले भुवन गुरु र तारानाथलाई निलम्बन गरिसकेका छौं ।’’
त्यसरी रसिद काटिएकाहरुबाटै प्रशासन तथा अख्तियारमा उजुरी गरिएको धामका सञ्चालक समिति सदस्य छाँया पोखरेलले बताए । ‘‘नियोजित रुपमा जसले रसिद काट्यो उही उजुरी दिन अख्तियार गएको छ । कर्ताको रसिद बोकेको छ, यहाँ हुने पहेलो र सेतो रसिदको पनि फोटो खिचेको छ ।’’ उनले भने,‘‘यो कसले के उद्देश्यले घटाएको छ हामी बुझ्दै छौं ।’’ पोखरेलले तीन वटा बाहेक अरु रसिदमा यस्तो नभेटिएको दाबी गरे ।
गत मंसिरमा मन्दिर व्यवस्थापन समितिको अधिवेशन भएपनि नयाँ नेतृत्वमा सहमती जुट्न सकेको थिएन । वर्तमान अध्यक्ष तिमिल्सिना र हाल उपाध्यक्ष रहेका लक्ष्मण पोखरेल अध्यक्षका आकांक्षी थिए । सहमती हुन नसकेपछि केही समय सिद्धबाबा धाम नेतृत्व विहिन बनेको थियो । गत फागुनमा तिमिल्सिना अध्यक्ष र पोखरेल उपाध्यक्ष बन्ने सहमती भएको हो ।
अध्यक्ष बन्नको लागि अप्रत्यक्ष रुपमा यो काम गराइएको हुन सक्ने तिमिल्सीनाले बताए । बुटवल ३ सँगै पाल्पाको तिनाउ गाउँपालिका ३ मा सिद्धबाबाको मन्दिर रहेको छ । करिब एक किलोमिटरको दुरीमा रहेका दुबै सिद्धबाबा धाममा विभिन्न जिल्लाबाट भक्तजनहरु दर्शन गर्न आउने गर्दछन् ।