प्रकोप पीडित कृषकलाई बागमती प्रदेशको डेढ करोड राहत

प्राकृतिक र गैरप्राकृतिक विपद्बाट प्रभावित बनेका किसानलाई बागमती प्रदेश सरकारले राहत प्रदान गरेको छ । कृषि, पशुपंक्षी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने सबै खालका विपद्बाट प्रभावित किसानलाई नेपालमा नै पहिलो पटक बागमती प्रदेशले करिब डेढ करोड रुपैयाँ राहत रकम वितरण गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम बमोजिम प्रदेशभरका ४१ वटा कृषक तथा फार्मलाई प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एक करोड ५७ लाख ७५ हजार १६० रुपैयाँ रकम वितरण गरेको हो । राहत तथा क्षतिपूर्ति दाबीका लागि मन्त्रालयले २०७९ मंसिर २३ गते सार्वजनिक सूचनामार्फत् विपद्बाट प्रभावित किसानलाई निवेदन पेस गर्न आह्वान गरेको थियो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको संयोजकत्वमा बनेको राहत व्यवस्थापन तथा निर्देशन समितिको विभिन्न मितिमा बसेको बैठकले कृषकको छनोट गरी राहत वितरण गरिएको हो । राहत पाउनेमा चितवनका १२, मकवानपुरका १०, काभ्रे जिल्लाका ९, नुवाकोट, ललितपुर र धादिङका २/२ जना कृषक र कृषि फार्म रहेका छन् । सिन्धुली, भक्तपुर, काठमाडौं र दोलखाका १/१ जना कृषकले पनि प्रदेश सरकारले प्रदान गरेको राहत प्राप्त गरेका छन् ।
काभ्रेको नोबेल कृषि फर्मलाई पाँच लाख ७० हजार, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्मलाई ३६ हजार, दाजुभाइ एकीकृत बहुउद्देश्य कृषि फार्मलाई ३५ हजार, गैरीगाउँ कृषि तथा पशुपंक्षी फार्मलाई आठ लाख २० हजार, टिम भिजन एग्रिकल्चर फार्मलाई १० लाख, श्रेष्ठ बंगुर फार्मलाई नौ लाख ६० हजार, उन्नति हाम्रो बंगुर फार्मलाई १० लाख र एसएस बंगुर माछा तथा कृषि फार्मलाई १० लाख राहत रकम उपलब्ध गराइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।
त्यस्तै चितवन जिल्लाको पाथिभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रालिलाई १० लाख, गोपी पशुपंक्षी फर्मलाई १० लाख, गौशाला कृषि फर्मलाई आठ लाख ७० हजार, न्यु कर्माचार्य एकीकृत फर्म १० लाख, सिमलढाप कृषि व्यावसायिक फर्म दुई लाख, श्रीकुमार चेपाङलाई दुई लाख, गुरुङ एकीकृत पशुपंक्षी पालन तथा बंगुर फर्मलाई एक लाख ४० हजार, पौडेल एकीकृत पशुपंक्षी मत्स्य तथा कृषि फर्म ६ लाख २० हजार, सियाना महतो र सुकदेव धरेललाई १०/१० हजार रुपैयाँ वितरण गरिएको थियो ।
यसैगरी चितवनकै दण्डपाडी दनैलाई ११ हजार १६० र सावित्रीकुमारी धरेललाई ६ हजार १२० रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ । त्यसैगरी नुवाकोट जिल्लाको धादिङ कृषि फर्म तीन लाख ८० हजार, एसआर बंगुर तथा पशुपन्छी फर्म सात लाख ३० हजार प्रदान गरिएकोमा पोकम कृषि बहुउद्देश्यीय प्रालि, भक्तपुरलाई १० लाख रुपैयाँ प्रदान गरिएको थियो । ललितपुरको त्रियोगा एग्रिकल्चर प्रालि र सुनाखरी पशुपालन तथा अर्गानिक तरकारी फार्म प्रालिले पनि १०/१० लाख प्राप्त गरे ।
धादिङका मंगली नेपालीलाई १० हजार र रामबहादुर रोक्कालाई ४० हजार रुपैयाँ राहतस्वरुप खातामा रकम भुक्तानी गरिएको थियो । यस्तै सिन्धुलीको एसएस पशु रांगा फर्म तथा माछापालन फार्मलाई एक लाख ३० हजार प्रदान गरिएको छ । प्राकृतिक तथा गैरप्राकृतिक विपदबाट क्षति पुगेका कृषकलाई राहत प्रदान गर्ने उद्देश्यले मन्त्रालयले आव २०७९/०८० राहत वितरण कार्यविधि, २०७९ स्वीकृत गरी सोहीअनुसार कार्यान्वयन गराएको थियो ।
राहत रकम प्राप्त गर्नका लागि किसानले निवेदनका साथै विपदको घटना खुल्ने प्रहरी मुचुल्का, सम्बन्धित स्थानीय तहको सिफारिस, सम्बन्धित कृषि ज्ञान केन्द्र/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस, राहत व्यवस्थापन समितिको सिफारिस, बीमा नगरेको प्रमाण, कुनै निकायबाट राहत नलिएको प्रमाणका साथ क्षति देखिने फोटो वा भिडियो अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएको थियो ।
मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार हाल मन्त्रालयमा राहतका लागि ६ वटा नया निवेदन दर्ता भइसकेको छ भने ११ वटा निवेदनको कागजात चेकजाँच सकेर निर्देशन समितिमा पेस हुने प्रक्रियामा रहेको छ । मन्त्रालयले कृषकलाई राहत वितरणका लागि आगामी आव २०८०/०८१ मा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।