Logo

निजी क्षेत्रको मनोबल बढाउन आग्रह

नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबीच गरेको भेटवार्तामा सो आग्रह गरेका हुन् ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारीले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले कर्मचारीहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्येनजर गरेर बृद्धि गरिनुपर्ने बताए । मन्त्रीद्वय भण्डारी र मोदीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी लगायतका सहभागी रहेका थिए ।

अर्थतन्त्रलाई प्राथामिकता दिन जोड

परिसंघका पदाधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषयमा छलफल गरेको छ । नवनिर्वाचित अध्यक्ष अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले राप्रपा संसदीय कार्यालयमा छलफल गरेको हो । परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरुले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्ने बताए ।

निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरुले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउनुपर्नेमा उनले जोड दिए । भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने पनि उनले बताए ।

अध्यक्ष अग्रवालले भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरु हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्नेमा जोड दिए । सो अवसरमा पूर्व उर्जा मन्त्री समेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताए । उनले जलविद्युत आयोजनाको पीपीए रोक्नुपर्ने कुनै कारण नभएको उल्लेख गर्दै सबै जलविद्युत आयोजनाको पीपीए खुला गर्न माग गरे । उनले पीपीए खुला गर्न सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्