विद्युतीय मोटरबाट किसानलाई सिँचाइ सहज

कञ्चनपुरको लालझाँडी गाउँपालिका–३ का किसानलाई सिँचाइ गर्न विद्युतीय लाइन विस्तार गरिएको छ । उक्त गाउँपालिकामा सिँचाइका लागि कुनै पनि नहर नभएका कारण किसानलाई खेतीपातीमा पानी लगाउन समस्या परेको कृषकहरू बताउँछन् ।
लालझाँडी गाउँपालिका कृषक शिवनाथ राना भन्छन्, “विद्युतीय मोटरबाट अहिले किसानलाई सिँचाइका लागि निकै सजिलो भइरहेको छ,” उनले भने, “विद्युतीय मोटर आउनुभन्दा पहिले सिँचाइ इन्जिनमा आफूले उत्पादन गरेको अन्नबाट ७५ प्रतिशत डिजलका लागि लगानी लाउनुपर्ने हुन्थ्यो, तर अहिले विद्युतीय मोटरबाट धेरै सहज भएको छ ।”
विद्युतीय मोटरले ३ देखि ४ घरमा सिँचाइका लागि सहज हुने गरेको छ । तर विद्युत विस्तार भने उक्त गाउँपालिकाको वडासम्म पुगेको छैन । लाइन विस्तार भएका वरिपरिका किसान सबैले विद्युतीय मोटरबाट लाभ लिइरहेको छन् । कृषक राना भन्छन्, “विद्युतीय मोटर लाइनका लागि प्रत्येक घरबाट एक हजार पाँच सय गरेर चन्दा संकलन गरेका थियौं, त्यो रकमले पोल र तारका लागि मात्र पुग्यो, एउटै ट्रान्समिटरका लागि ६, ७ लाख पर्ने हुँदा आफूले चन्दा संकलन गर्न सकिएन ।”
२०६२ सालमा मिटर डेनिडा (डीके)ले दुईवटा २५/२५ मेगावाटका ट्रान्समिटर उपलब्ध गराएको थियो भने २०७७ सालमा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले संसद् विकास कोषबाट ५० (केभीए)को ट्रान्समिटर उपलब्ध गराएका थिए । त्यसैगरी कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट २०७२ सालमा १० वटा विद्युतीय मोटर उपलब्ध गराएको थियो । २०७९ सालमा भूमिगत जल स्रोत धनगढीले पनि १० वटा विद्युतीय मोटर उपलब्ध गराएको थियो ।
त्यसैगरी २०७९ सालमा फेरि कृषि ज्ञान केन्द्र महेन्द्रनगरले आठवटा विद्युतीय मोटर उक्त गाउँपालिकालाई उपलब्ध गराएको थियो । अहिले लालझाँडी गाउँपालिकामा २८ वटा विद्युतीय मोटर रहेका छन् भने, तीनवटा ट्रान्समिटर रहेका छन् । बढी खपत हुँदा पानी तान्ने मोटर डिम चल्ने गर्छन्, दुईवटा एक सय मेगावाटका ट्रान्समिटर उपलब्ध गराएको भए किसानलाई सिँचाइका लागि अझ बढी सहज हुने उक्त गाउँपालिकाका कृषक अमर रानाले बताए ।
उनले भने, “इन्जिन र विद्युतीय मोटरमा पैसाको हिसाबले हेर्ने हो भने, विद्युतीय मोटर नै सजिलो पर्ने गरेको छ, डिजलको १५५ रुपैयाँ छ, डिजलमा एक लिटर खर्च गरेर चलाउनु र विद्युतीय मोटर चलाउँदा पानी बराबर नै आउने गर्छ । विद्युतको १ युनिट खर्च ८ देखि १० रुपैयाँसम्म पर्छ भने, डिजेलको १ लिटरको १५५ रुपैयाँ पर्ने गर्छ, इन्जिनले १ लिटर डिजेल खाएको र मोटरले १ युनिट खाएको पानी बराबर नै आउने गरेको छ ।”
राना भन्छन्, “विद्युतीय मोटर चलाउँदा एक दिनको २० देखि २५ युनिट आउने गर्छ भने, चार सयदेखि पाँच सय रुपैयाँसम्म खर्च आउने गरेको छ, तर इन्जिनले एक दिनमा १५ देखि २० लिटर डिजेल खाने गर्छ, जसको खर्च एकदिनको दुई हजार पाँच सय पर्ने गरेको छ ।” उनका अनुसार, “किसानलाई सिँचाइका लागि विद्युतीय मोटर निकै सजिलो भइरहेको छ । पूरै लाइन विस्तार भइदिएको भए सहकारी संस्थाभित्र सिँचाइ गर्न अझ बढी सजिलो हुने उनले बताए ।
गाउँपालिकाका कृषक भन्छन्, “हाम्रो यस लालझाँडी गाउँपालिकामा बढीजसो उखुखेती उत्पादन गरिन्छ, त्यसको सिँचाइका लागि वैशाख महिनादेखि लिएर असारको अन्तिम महिनासम्म ४, ५ पटक पानी लगाउनु पर्ने हुन्छ । उखुमा सिँचाइ गर्न सबैभन्दा भरपर्दो साधन भनेको नै विद्युतीय मोटर हो । डिजेलबाट सिँचाइ गर्दा धेरै खर्च आउने गरेको उक्त गाउँपालिकाका कृषक बताउँछन् ।