Logo

४५ प्रतिशत मात्रै विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ४४.९९ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ । ११ महिनाको अवधीमा आधा पनि विकास बजेट खर्च हुन नक्दा विकासका कार्यहरु अलपत्र अवस्थामा रहेका छन् । समयमा नै विकास निर्माणका कार्यहरु सम्पन्न नहुँदा नगरवासीहरु सास्ती भोग्न बाध्य छन् ।

आर्थिक वर्ष सकिन लाग्दा समेत आधापनि वजेट खर्च हुन नसक्नुले सरकारको सुस्तपनलाई उजागर गरेको छ । बजेट हुँदा पनि खर्च गर्न नसक्नु दुख रहेको आर्थिक क्षेत्रका जानकारहरु बताउछन् । उप महानगरपालिकाले संघ, प्रदेश र उपमहानगरपालिकाको आन्तरिक बजेट समेत गरी जेठ मसान्तसम्ममा कुल बजेटको ५८.०५ प्रतिशत बजेट खर्च भएको घोराही उप महानगरपालिकाका उप प्रमुख हुमाकुमारी डि सीले जानकारी दिइन् ।

उनका अनुसार चालुतर्फ बिनियोजित बजेट मध्ये ६८.९५ प्रतिशत र पुँजीगत तर्फ ४४.९९ प्रतिशत बजेट खर्च भएको छ । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रम अन्र्तगत चालुतर्फ बिनियोजित बजेट ६८ करोड ५१ लाख ४४ हजार मध्ये ७२.३ प्रतिशत वजेट खर्च भएको छ । पुँजीगततर्फ बिनियोजित बजेट १० करोड ६४ लाख ५० हजार मध्ये ३४.१७ प्रतिशत बजेट खर्च भएको छ । संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमको औषतम ६७.१७ प्रतिशत बजेट खर्च भएको छ ।

प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तरगत चालु तर्फ बिनियोजित बजेट ८८ लाख मध्ये ४५.१८ प्रतिशत र पुँजीगततर्फ बिनियोजित बजेट ६ करोड ६ लाख मध्ये ५३.४७ प्रतिशत बजेट खर्च भएको छ । प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमको औसतमा ५२.४२ प्रतिशत खर्च भएको छ । आन्तरिक बजेटबाट चालु तर्फ बिनियोजित बजेट ६१ करोड २५ लाख ६४ हजार ५ सय मध्ये ६५.५४ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ बिनियोजित बजेट ९२ करोड २३ लाख २६ हजार ५ सय मध्ये ४५.६९ प्रतिशत बजेट खर्च भएको छ ।

आन्तरिक बजेटतर्फको औसतमा ५३.६१ प्रतिशत बजेट खर्च भएको उप प्रमुख डि सीले बताइन् । क्षेत्रगत रुपमा हेर्दा आन्तरिक श्रोतको आर्थिक विकास अन्तरगत कृषि विकासतर्फ ३१.४१ प्रतिशत, पशु सेवा तर्फ ५०.७८ प्रतिशत, पर्यटन तथा संस्कृती प्रर्वद्धन तर्फ ६०.८१ प्रतिशत, उपभोक्ता हित संरक्षण तर्फ ३७.५६ प्रतिशत, सहकारी तथा रोजगार प्रवर्द्धन तर्फ २०.१४ प्रतिशत बजेट खर्च भएको छ ।

समग्रमा आर्थिक विकास तर्फ चालु आ.व.को ११ महिनामा कुल बिनियोजित बजेटको ६३.७४ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास अन्तरगत शिक्षा, युवा तथा खेलकुद तर्फ ५३.१६ प्रतिशत वजेट खर्च भएको छ । जनस्वास्थ्य प्रवर्द्धनतर्फ ३८.०९ प्रतिशत, महिला, बालबालिका तथा जेष्ठ नागरिक तर्फ ६१.७९ प्रतिशत वजेट खर्च भएको छ । समग्रमा सामाजिक विकास तर्फ चालु आवको ११ महिनामा कुल बिनियोजित बजेटको ५०.८८ प्रतिशत बजेट खर्च भएको उनले बताइन ।

पूर्वाधार विकास अन्तरगत सहरी, विकास तथा पूर्वाधार तर्फ चालु आ.व.को ११ महिनामा कुल बिनियोजित बजेटको ४५.९१ प्रतिशत बजेट खर्च भएको छ । सरसफाई, वन, वातावरण तथा विपद् व्यवस्थापन अन्तरगत सरसफाई व्यवस्थापन तर्फ २९.२० प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४४.६६ प्रतिशत बजेट खर्च भएको छ । सार्वजनिक सेवा, सुशासन तथा संस्थागत विकास अन्तरगत ४४.५४ प्रतिशत बजेट खर्च भएको छ ।

संघीय सरकारबाट प्राप्त हुनुपर्ने वित्तीय समानिकरण अनुदानमा कटौति तथा राजस्व बाँडफाटबाट प्राप्त हुनु पर्ने रकम समेत घट्न जाँदा बजेट विनियोजन भएका कार्यक्रम तथा आयोजना कार्यान्वयनका रोक लगाउनु पर्ने अवस्था समेत आएको उप प्रमुख डिसीले बताइन् । उप महानगरपालिकाले पछिल्लो समय संघिय सरकार र प्रदेश सरकारवाट आउने रकम रोक लगाएपछि योजना कार्यान्वय तथा कार्यक्रमहरु समेत कटौती गरेको थियो । यो अवधिमा घोराही उप महानगरपालिकाले करिव १८ करोड राजस्व संकलन गरेको छ ।

उप महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आन्तरिक स्रोतमार्फत १७ करोड ८२ लाख ६८ हजार संकलन गरेको जनाएको छ । जुन अघिल्ले आर्थिक वर्षमा भन्दा वढी राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्षको ११ महिनाका अवधीमा १६ करोड ६३ लाख ७७ हजार राजस्व सङकलन गरेको उप महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्