Logo

बागलुङमा २० प्रतिशत रोपाइँ

मध्य असारसम्ममा बागलुङमा करिब २० प्रतिशत रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लाको धानखेती हुने ६ हजार एक सय हेक्टर खेतमध्ये हालसम्म २० प्रतिशत अर्थात् एक हजार दुई सय हेक्टरमा रोपाइँ सकिएको छ । मध्य पहाडी क्षेत्रमा पर्ने बागलुङको अधिकांश क्षेत्रमा आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ । यस वर्ष समयमै मनसुन सक्रिय नभएका कारण किसानले मध्य असारसम्म पनि रोपाइँ गर्न नपाएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताए ।

“जिल्लाका सीमित क्षेत्रबाहेक अन्यत्र सिँचाइको व्यवस्था छैन,” प्रमुख भट्टराईले भने, “समयमै वर्षात् नभएका कारण रोपाइँ गर्न ढिला भएको छ ।” जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका सीमित क्षेत्रमाबाहेक अन्यमा सिँचाइको व्यवस्था छैन । खेती गर्ने समयमा किसानले आकास हेरेर बस्नुपर्ने अवस्था छ । “समयमै वर्षात् नभएका कारण सीमित क्षेत्रमाबाहेक रोपइँ हुन सकेको छैन,” भट्टराईले भने । हालसम्म जिल्लाका गलकोट, निशी र बरेङका फाँटमा रोपाइँ गरिएको छ ।

यी क्षेत्र जिल्लाका अन्य क्षेत्रको तुलनाम सिँचाइ सुविधा भएका क्षेत्र हुन् । सिँचाइ सुविधा भएका केही क्षेत्रमा तीन खेती हुने क्षेत्रमा मकै पाक्न बाँकी रहेका कारण रोपाइँ ढिला हुने गरेको छ । साउनको पहिलो साताको अन्त्यसम्म जिल्लाको सम्पुर्ण क्षेत्रमा रोपाइँ सकिने लक्ष्य छ । गत वर्ष जिल्लाभर करिब १९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्षको उत्पादन के हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको अधिकृत भट्टराईले बताए ।

“मौसम उपयुक्त परेमा उत्पादन बढाउने लक्षसहित काम गरेका छौं,” भट्टराईले भने । उन्नत बिउको प्रयोग तथा किसानमा व्यावसायिक सचेतना वृद्धिलगायतका कारण यस वर्ष जिल्लामा धान उत्पादन बढ्ने अनुमान कार्यालयले गरेको छ । सामान्यतया धानको बिउ छरेको २५ दिनभित्रमा रोपाइँ गरि सकेमा उत्पादन राम्रो हुने गर्दछ । यस वर्ष उच्च पहाडी तथा मध्य क्षेत्रमा ब्याड राखेको मैना दिन पुगिसकेको छ ।

जिल्लामा विशेषगरी स्थानीय जातसँगै खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवालगायतका धानखेती हुँदै आएको छ । जिल्लाम यस पटक खुमल १६ बासमती धान परीक्षणको रूपमा खेती गरिँदै छ । ज्ञान केन्द्रकै निगरानीमा दुई हेक्टर क्षेत्रफल खेतमा लगाउन पुग्ने गरी ब्याड तयार पारिएको छ । “यहाँको हावापानी, सिँचाइ र माटोको अवस्था हेरेर नयाँ प्रजाति परीक्षण गर्दैछौं,” प्रमुख भट्टराईले भने, “परीक्षण सफल भएमा समग्रमा जिल्लाकै उत्पादन वृद्धि हुनेछ ।”

परीक्षण सफल भएमा यस वर्ष उत्पादित खुमल १६ जिल्लाभरका अन्य क्षेत्रमा विस्तार गरिने छ । यस वर्ष दुई हजार ६ सय हेक्टरमा उन्नत र तीन हजार चार सय हेक्टरमा स्थानीय जातको धानखेती हुने ज्ञान केन्द्रले जनाएको छ । बागलुङका अधिकांश मानिस कृषि पेशामा आबद्ध छन् । परम्परागत रूपमा हुने धानखेती लगाउन जनशक्ति अभावका कारण मुस्किल हुने गरेको छ । जिल्लाबाट ठूलो संख्यामा युवा युवती वैदेशिक रोजगारीका लागि विदेशिने गरेकाले गाउँमा खेती गर्ने मानिस पाउन मुस्किल हुने गरेको छ ।

प्रविधिको अभाव, कम उब्जनी तथा श्रमअनुसारको मूल्य नपाउँदा धैरै कृषकको खेतीपाती प्रति वितृष्णा पैदा हुन थालेको बागलुङका अगुवा कृषक गंगा पुनले बताए । जिल्लामा वैदेशिक रोजगारीका साथै सहरमा झर्ने क्रम पनि बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि सोहीअनुसारका कृषकसम्म योजना पुग्न नसकेका कारण समस्या हुने गरेको पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्