Logo

वधशाला सञ्चालन गर्न टेण्डर आह्वान

बुटवलमा पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको हो ।

दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्षअघि सम्झौता भएको थियो । तर विधि र प्रक्रिया पूरा नभएपछि ३० दिनको समय राखेर पुनः टेण्डर आह्वान गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए । अब प्रक्रिया पुरा गरि आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने बुटवल उपमहानगरकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित गर्न पशु बधशाला सञ्चालन गरिने र यसले बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सक्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित भइसकेको जानकारी दिए ।

जसअनुसार पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ । बधशालामा दैनिक एक हजार खशीबोका बध गर्नसक्ने क्षमता रहेको छ ।

झन्डै २२ करोड रुपैयाँ लगानीमा निर्माण भएको बधशाला क्षेत्रमा बाख्राको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ । यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना उपमहानगरको छ ।

प्रतिक्रिया दिनुहोस्