‘सरकारले व्यवसायिक लागत घटाउँछ’

नवनियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा मुख्य सचिव डा. अर्यालले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने बताएका हुन् ।
महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनियुक्त मुख्य सचिव अर्याललाई बधाई दिदैं विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको बताउदै यसको संसोधनका लागि पहल गर्न पनि अर्यालसँग आग्रह गरे ।
महासंघले निजी क्षेत्रको मर्यादाक्रमको विषय उठाइरहेको र विद्यमान अवस्थामा उद्यमी व्यवसायीको मनोबल उच्च बनाउन आवश्यक भएकोमा ढकालले जोड दिएका थिए । उक्त विषयमा गृह मन्त्रालयसँग समन्वय गर्ने मुख्य सचिव अर्यालले बताएका थिए । त्यसैगरि जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरि व्यवस्था गर्नुपर्ने सुझाव ढकालले राखेका थिए ।
भेटका अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो ब्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्नेमा जोड दिए ।