व्यवसायीलाई उत्साहित बनाउन माग

व्यवसायीलाई उत्साहित बनाउने वातावरण सिर्जना गर्न निजी क्षेत्रले माग गरेको छ । घोराही उपमहानगरपालिका बजेट तथा राजस्व व्यवस्थापन शाखाले आयोजना गरेको व्यवसायीलाई करदाता शिक्षा कार्यक्रममा उनीहरुले त्यस्तो बताएका हुन् । व्यवसायीहरुले सहजरुपमा कर तिर्ने वातावरण नहुँदा समस्या रहेको बताएका थिए ।
व्यवसाय गर्दा धेरै झन्झटीलो प्रक्रिया रहेको भन्दै यसलाइ सहज र सरल बनाउनु पर्ने उनीहरुको भनाइ थियो । उद्योगी विकास वलीले नागरिक तथा व्यवसायीबाट उठाइएको कर अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बताए । यसले करको दुपयोग हुने गरेको भन्दै उत्पादनशिल क्षेत्रमा लगानी गर्नपर्नेमा उनको जिकिर थियो । व्यवसाय दर्ता गर्दा अनिवार्य व्यवसायीलाई घर वहाल कर तिर्न लगाउने गरेको भन्दै यस प्रकारको कार्य रोकिनु पर्ने उनको भनाइ थियो ।
घरबहाल कर घरधनीले तिर्नु पर्ने वलीको भनाइ थियो । अर्का उद्योगी भरतप्रसाद रेग्मीले करको दायरा भन्दाबाहिर रहेकालाई करको दायरामा ल्याउने विषयमा योजना बनाएर अगाडि बढ्नु पर्ने बताए । दर्ता विनाका व्यवसायीले दर्ता भएका व्यवसायीलाई समस्यामा पारेको उनको भनाइ थियो । दर्ता बिना सञ्चालन हुन नदिन दर्ता विना संञ्चालन हुने व्यवसायलाई नियन्त्रण गरिनुपर्नेमा उनले जोड दिए ।
व्यवसायी विनोद पाण्डेले दर्ता प्रक्रिया सहज बनाउनु पर्नेमा जोड दिए । व्यवसाय दर्ता गर्न जाँदा धेरै समस्या भोग्नु परेको भन्दै स्थानीय तहमा दर्ता विना नै सञ्चालन भएको हुन सक्ने उनको भनाइ थियो । हाटवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसीले व्यवसायीहरुलाई रहरले कर तिर्ने वातावरण बनाउनु पर्ने राज्यको कर्तव्य भएकोमा जोड दिए । रहरले कर तिर्ने वातावरण भएमा राज्ले धेरै कर संकलन गर्न सक्ने उनको भनाइ छ ।
व्यवसायी जगत आचार्यले स्थानीय सरकारबाट पन्छाउने काम मात्र भएकोमा दुखेसो गरे । फोहोर उठाउनका लागि आफूले पटक–पटक जानकारी गराउँदा समेत सुनाइ नभएको उनले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसालले स्थानीय तहहरु लक्ष्य निर्धारण गरेर अगाडि बढ्नु पर्ने धारणा राखे ।
व्यवसायीलाई उत्साह बनाउने काम हुन नसकेको भन्दै उनले भने,‘‘मनोवल बढाउने काम आवश्यक छ, नीति बनाउँदा कार्यान्वय गर्न सक्ने खालको बनाउनु पर्छ ।’’ संघका महासचिव महेन्द्र बुढाथोकीले व्यवासायीलाई प्रोत्सहान गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा घोराही उप महानगरपालिकाका उपप्रमुख हुमा डिसीले सबैको सहयोगमा उपमहानगरपालिका समृद्ध बनाउन सकिने धारणा राखिन् ।