‘ग्रिड दिगो आर्थिक वृद्धिको साधन बन्न सक्छ’

नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) सम्बन्धी भिजनको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय गोलमेच बैठक बसेको छ । विश्व बैंक र अर्थ मन्त्रालयले आयोजना गरेको बैठकमा सरकार र विकास साझेदारहरूका साथै नागरिक समाज, निजी क्षेत्र, युवा समूह र प्रबुद्ध वर्गका प्रतिनिधिको सहभागिता रहेको थियो ।
छलफलमा ग्रिड सम्बन्धी ‘काठमाडौं घोषणापत्र’ संयुक्त रूपमा अनुमोदन गरिएयता भएका कार्यान्वयन प्रयासहरूको लेखाजोखा गरिएको थियो । विकास साझेदारहरूमा हाल एसियाली विकास बैंक, फ्रान्स, अष्ट्रेलिया, संयुक्त अधिराज्य, गणतन्त्र कोरिया, युरोपेली संघ, जर्मनी, जापान, फिनल्याण्ड, अन्तर्राष्ट्रिय मुद्रा कोष, नर्वे, स्विट्जरल्याण्ड, संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसंघ, विश्व बैंक समूह, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था संघ लगायतका छन् ।
सो अवसरमा मुख्य सचिव शंकर दास बैरागीले भने,‘‘नेपालले राष्ट्रिय विकासको दूरदृष्टिका रूपमा ग्रिड सम्बन्धी अवधारणालाई औपचारिक रूपमै अंगीकार गरेको छ । विभिन्न जोखिमहरूकोबीच यो अवधारणा समृद्धि, दिगो आर्थिक वृद्धि, राम्रा रोजगारी र जीविकोपार्जनका अवसर एवं उत्थानशीलताको एउटा साधन बन्न सक्छ ।” उक्त बैठकले सरकारको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनामा उल्लेखित प्राथमिकता प्राप्त कार्यहरूको समेत समीक्षा गरिएको थियो ।
ती प्राथमिकता प्राप्त कार्यहरूमा जमिन, जल र वनलाई थप उत्पादनशील, दिगो र एकीकृत रूपमा व्यवस्थापन गर्ने; मानिसहरूलाई नयाँ सीप र उत्थानशील जीविकोपार्जनबाट सुसज्जित बनाउने; सहरी विकासलाई हरित बनाउने लगायतका रहेका छन् । यो सँगै खानेपानी तथा सरसफाइको पहुँच र प्रदूषण तथा फोहोरमैला व्यवस्थापन अभिवृद्धि गर्ने; नवीकरणीय ऊर्जा विस्तार गर्ने; यातायात प्रणालीको दिगोपना र उत्थानशीलता बढाउने; विपद् जोखिम व्यवस्थापन र वित्तीय लगानी सुदृढ गर्ने; र विपदबाट आइपर्ने आघातहरूप्रति अनुकूलन हुन सामाजिक सुरक्षालाई सबल बनाउने रहेका छन् ।
“हरित, उत्थानशील र समावेशी विकासले आयस्रोत बढाउने, सबैका लागि अवसरहरू सुधार गर्ने, र प्रकृतिसँगको सामन्जस्यतामा वृद्धि हासिल गर्ने कार्य गर्छ ।” दक्षिण एसिया क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरले भने । “ग्रिड सम्बन्धी प्राथमिकताहरूलाई साकार पार्न विश्व बैंक लगायत अन्य विकास साझेदारहरू पूर्णरूपमा प्रतिवद्ध छौं र हामी नेपालमा यसको प्रभावकारी नतिजाहरू हेर्न उत्सुक छौं ।”
नेपालको मस्यौदा ग्रिड रणनीतिक कार्ययोजनाले ग्रिड विकासको मार्गतर्फ जान अर्थतन्त्रव्यापी परिवर्तनको व्यवस्था गर्नुका साथै तयारी अवस्थामा रहेका बित्तिय प्रावधान सहितको उच्च प्राथमिकताका लगानी र प्राथमिकता प्राप्त नीतिगत प्रतिवद्धताहरू निर्दिष्ट गरेको छ । रणनीतिक कार्ययोजनाका प्राथमिकता नेपालका प्रमुख विकास, जलवायु, वातावरणीय र क्षेत्रगत रणनीतिहरूबाट साभार गरिएका छन् । यसका वित्तिय स्रोतहरूमा सरकारको सार्वजनिक खर्च, वैदेशिक विकास सहायता, कार्बन वित्त जस्ता नवीनतम स्रोत र निजी क्षेत्र लगानी रहेका छन् ।
बैठकले सरकारको नेतृत्वमा रहेको ग्रिड साझेदारीलाई थप मजबूत बनाएको छ । यसका २० वटा विकास साझेदार छन् । उक्त बैठक आसन्न रणनीतिक कार्ययोजनाका सम्बन्धमा प्रदेश तथा स्थानीय सरकार र अन्य सरोकारवालाहरूसँग परामर्श सुरू गर्न सरकारका लागि एउटा कोशेढुंगा बनेको छ । सो रणनीतिक कार्ययोजनालाई थप परिष्कृत गरी यसै वर्ष अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।