नेपाल ईयूको कालोसूचीमा निरन्तर

युरोपियन युनियनले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूची (एयर सेफ्टी लिस्ट)मा निरन्तरता दिएको छ । ईयूको यही महिना बसेको सुरक्षा काउन्सिल बैठकले सूचीमा नेपाललाई यथावत् राखेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार इयूले वर्षमा दुईपटक मे र नोभेम्बरमा सूची अपडेट गर्छ । ईयूको प्राविधिक टोलीले गत फेब्रुअरीमा नेपालको भ्रमण गरी हवाई सुरक्षा अडिट गर्ने योजना थियो । भ्रमण टोलीले हवाई सुरक्षाको अवलोकन गरी कालोसूचीबाट हटाउने प्रक्रिया अगाडि बढाउने बताइएको थियो ।
तर, त्यहीबेला पोखरामा भएको एटीआर जहाज दुर्घटनाका कारण ईयू टोलीले भ्रमण रद्द गरिदियो । अडिट हुन नपाएपछि सुरक्षा काउन्सिल बैठकले नेपाललाई कालोसूचीमा निरन्तरता दिएको हो । “पछिल्लो समय भने ईयूको टोली कहिले आउने कुनै जानकारी आएको छैन,” सूचना अधिकारी भूलले भने, “नोभेम्बरसम्मको लागि पुनः नेपाल कालोसूचीमा परेको छ ।”
ईयू टोलीले स्थलगत अवलोकन गरी हवाई सुरक्षाको अडिट गरेर सिफारिस भएमात्र आगामी नोभेम्बरमा बस्ने सुरक्षा काउन्सिल बैठकले कालोसूचीबाट हटाउन सक्छ । गएको नोभेम्बरमा भने नियमनकारी र सेवाप्रदायक निकाय एकै भएको भन्दै ईयूले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा निरन्तरता दिएको थियो ।
कालोसूचीबाट हटाउन हवाई सुरक्षाको मापदण्ड पालना गरी दुर्घटना न्यूनीकरणमा जोड दिन आवश्यक रहेको सरोकारवाला बताउँछन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०१३ जुलाईमा नेपाललाई गम्भीर चासोको सूचीमा राखेर २०१७ को जुलाईमा हटाएको थियो । तर, ईयूले भने डिसेम्बर २०१३ मा २७ राष्ट्रको समूहमा नेपाली वायुयानलाई उडान गर्न प्रतिबन्ध लगाएर कालोसूचीमा राखेको थियो । त्यसयता यो सूचीबाट नेपाल हटेको छैन ।