गल्ती लुकाउन झुटो विवरण «

गल्ती लुकाउन झुटो विवरण

१८ वटा बैठकमा जनप्रतिनिधिले खाना र नास्ताको बिल बढाएर आधा करोड खर्च भएको झुटो विवरण पेश गरेर विवादमा आएका जाजरकोटको छेडागाड नगरपालिकाका कर्मचारीले सोही खर्च लुकाउन पुनः अर्काे ‘फण्डा’ गरेको पाइएको छ । प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले विज्ञप्ति जारी गर्दै दुई आर्थिक वर्षमा जनप्रतिनिधिको खाना–नास्ताको खर्च २४ लाखमात्र भएको दाबी गरेका हुन् ।

रोकाय र लेखापाल खिमबहादुर शर्माले हस्ताक्षर गरेर सार्वजनिक गरेको विवरणमा दुई आर्थिक वर्षमा खाना–नास्तामा २४ लाख ४१ हजार १ सय ५ रुपैयाँँमात्रै खर्च भएको दाबी गरिएको छ । यसमध्ये चालु आर्थिक वर्ष २०७९/८० मा १४ लाख ३४ हजार ७१ र गत आर्थिक वर्षमा १० लाख ७ हजार ३४ रुपैयाँ भुक्तानी भएको विज्ञप्तिमा उल्लेख छ । केही दिन अघिमात्रै रोकायले जनप्रतिनिधिको खाना–नास्तामा ५३ लाख ६० हजार खर्च भएको बताएका थिए, जसमध्ये चालु आवमा ३९ लाख १ हजार ६ सय ७८ रुपैयाँँ भुक्तानी भइसकेको छ ।

त्यस्तै, भुक्तानीका लागि ९ लाखको तोक आदेश लगाएको कागजात भेटिएको छ । कर्मचारीले खाना–नास्ताको अस्वाभाविक खर्च देखाएपछि छानबिन समिति नै बनेको छ । समितिको कारबाहीबाट बच्न कर्मचारीले अर्काे विवरण सार्वजनिक गरेका हुन् । कर्मचारीले कारबाहीबाट बच्न चलाखी अपनाएर झुटो विवरण सार्वजनिक गरेको छानबिन समितिका संयोजक प्रेम केसीले बताए । सबै कागजपत्र समितिले नियन्त्रण लिएकोले हचुवाको भरमा नगरपालिकाको बेइज्जती गरिएको केसीको भनाइ छ ।

यस्तै, नगरपालिकाको लेखा शाखाबाट ३ लाख भुक्तानीको फाइल नै गायब भएको छ । कार्यालयमा कार्यपालिका र नगरसभाको खाना–खाजा बापतको रकम भुक्तानीका लागि पेश भएको फाइल हराएको वडाध्यक्षहरुले बताएका छन् । कार्यालय प्रमुखले भुक्तानी दिनु भनेर तोकआदेश लगाएको फाइल लेखा शाखामा नभेटिएको हो । नगरपालिका कर्मचारी र होटल व्यवसायीको मिलोमतोमा पेश भएको बिल प्रशासकीय अधिकृत रोकायले लुकाएको एक वडाध्यक्षले बताए ।

जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतले खाना खाने ठाउँ एकै ठाउँमा भएका कारण बिल मिलाउन सजिलो भएको छानबिन समितिका संयोजक खत्रीले बताए । नगरपालिकाबाट सार्वजनिक गरिएको विवरणका विषयमा लेखापाल शर्माले भने अनभिज्ञता प्रकट गरेका छन् । खर्च विवरण सार्वजनिक नभएको उनले दाबी गरे । लेखामा भौचर उठेपछि भुक्तानी भएको स्वीकार गर्दै शर्माले यो विषयमा थप अध्ययन गर्न बाँकी रहेको बताए । समितिले सम्पूर्ण कागजात नियन्त्रणमा लिएकोले आफूलाई सबै कुरा जानकारी नभएको उनको भनाइ छ ।

अघिल्लो र चालु आर्थिक वर्षमा भएको खर्च भन्दै कार्यालयले गलत तथ्यांक सार्वजनिक गरेको छानबिन समितिका संयोजक केसीले बताए । यस्तै, कार्यालयले भुक्तानी दिन बाँकी रहेको १२ लाखबाहेक १४ लाख ६० हजार ५७३ रुपैयाँ रकम गुपचुप पारेको छेडागाड–१ का कृष्ण जैसीले बताए । यसैबीच, छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले छानबिन समितिका संयोजकलाई दबाब दिएको खुलेको छ । कागजपत्र कसरी मिडियामा गयो भन्दै उनले केसीलाई दबाब दिएका हुन् । यसबारे अहिले केही पनि नबोल्न दबाब दिइएको छानबिन समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्