आदेश नदिएको काठ बिक्री, वन उपभोक्ता समूहका पदाधिकारी पक्राउ

जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको शिवसताक्षी–१० मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारी पक्राउ परेका छन् । सेक्टर वन कार्यालय चुलाचुली इलामबाट खटिएको टोलीले गैडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङया र कोषाध्यक्ष रविन न्यौपानेलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई सेक्टर वन कार्यालय चुलाचुली इलाममा अनुसन्धानका लागि राखिएको वन कार्यालय चुलाचुली इलामका प्रमुख सत्यराम प्रजापतिले बताए । जिल्ला वन कार्यालय इलामबाट बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।
वन कार्यालयले छप्पान आदेश दिनुपर्ने, त्यसपछि टुनटुना, चिरान आदेश दिनुपर्ने र यी सबै प्रकृया पूरा गरेपछि बिक्री आदेश र छुटपुर्जी वन कार्यालयबाट लिनुपर्ने भए पनि गैडे सामुदायिक वन उपभोक्ता समूहका तीनजना पदाधिकारीले बिक्री र छुटपुर्जी आदेश नलिई काठ बिक्री गरेको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको कार्यालय प्रमुख प्रजापतिले बताए । पक्राउ परेका पदाधिकारीसँंगै वन कार्यालयको टोलीले को १ च ७५०५ नम्बरको बोलेरो जिप र २६ं।६२ क्युफिट चिरान काठ पनि बरामद गरेको उनले जानकारी दिए ।
वन कार्यालयले साखु जातको सुख्खा रुख कटानको आदेश दिएको तर बरामद भएको काठ साखुजस्तो नदेखिएकाले पक्राउ परेका सबैलाई अनुसन्धानका लागि राखिने प्रजापतिले बताए । गैडे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर थपलिया माई नगरपालिकाको नेतृत्वमा पश्चिम नेपालको भ्रमणमा रहेको र उनी आएपछि नियन्त्रणमा लिइने जिल्ला वन कार्यालय इलामले जनाएको छ ।