डिजिटल बैंकिङ उत्साहजनक, क्यूआर कोडबाट गरिने भुक्तानी उल्लेख्य

सरकारले जनताले कारोबारका लागि डिजिटल भुक्तानीको क्रम उल्लेख्य वृद्धि भएको जनाएको छ । आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । साथै क्यूआर कोडमार्फत् गरिने भुक्तानीमा पनि उल्लेख्य वृद्धि भएको उनको भनाइ छ ।
यस्तै विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत् हुने कारोबारमा समेत बढोत्तरी भएको आर्थिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार, चालू आवमा विद्युतीय माध्यमबाट साढे ३६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ भुक्तानी भएको छ । विद्युतीय भुक्तानी पूर्वाधारमा बढेको लगानी, यसका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँचका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढेको हो ।
गत फागुनसम्ममा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)बाट मात्रै २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भएको सर्वेक्षणमा उल्लेख छ । सरकारले २०७६ सालदेखि आरटिजिएस प्रणाली लागू गरेको थियो । सो अवधिदेखि हालसम्ममा करिब २३ खर्ब रुपैयाँ रकम चेक बिना नै रकम भुक्तानी भएको देखाएको छ ।
त्यसैगरी, फागुनसम्ममा एटीएमबाट ८१ अर्ब ७३ करोड रुपैयाँ, ईसिसीबाट चार खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ, आइपिएसबाट एक खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, कनेक्ट आइपीएसबाट तीन खर्ब ४० अर्ब रुपैयाँ, डेबिट कार्डबाट ८५ अर्ब १४ करोड रुपैयाँ, क्रेडिट कार्डबाट एक अर्ब ४१ करोड र प्रिपेड कार्डबाट ३७ करोड रुपैयाँ विद्युतीय कारोबार भएको सर्वेक्षणमा उल्लेख छ ।
इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ८६ करोड रुपैयाँ, मोबाइल बैंकिङबाट एक खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ, शाखारहित बैंकिङबाट एक अर्ब ५२ करोड रुपैयाँ, वालेटबाट १८ अर्ब १६ करोड रुपैयाँ, क्यूआरमा आधारित २० अर्ब ७८ करोड रुपैयाँ, पिओएसबाट चार अर्ब ७१ करोड रुपैयाँ र ई कमर्सबाट ४७ करोड रुपैयाँ कारोबार भएको छ । आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.५ प्रतिशतले बढी ५३ खर्ब ६३ अर्ब ३४ करोड पुगेको सर्वेक्षणले उल्लेख गरेको छ ।
गत आवको सोही अवधिमा यस्तो वृद्धिदर ४.१ प्रतिशत रहेको थियो । चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित भएको कर्जा २.८ प्रतिशतले बढी ४७ खर्ब ४९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । फागुनसम्ममा कुल निक्षेपमध्ये मुद्दती ५९.९ प्रतिशत, बचत २५.७ प्रतिशत, चल्ती ७.९ प्रतिशत र अन्य निक्षेपको अंश ६.५ प्रतिशत रहेको छ । सर्वेक्षणले सबैभन्दा बढी कर्जा थोक तथा खुद्रा व्यापारमा लगानी भएको देखाएको छ ।
जसअनुसार, थोक तथा खुद्रा व्यापारमा २०.२ प्रतिशत, उपभोग्य कर्जा १८.३ प्रतिशत, औद्योगिक कर्जा १५.५ प्रतिशत, सेवा उद्योग ८.६ प्रतिशत, कृषि ८.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा ६.७ प्रतिशत र निर्माणमा ४.२ प्रतिशत लगानी रहेको छ । सर्वेक्षणले चालू आवको पुससम्ममा प्राथमिकता प्राप्त क्षेत्रमा १२ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी भएको देखाएको छ । जसअनुसार, कृषिमा कुल कर्जाको १३ प्रतिशत लगानी गरेको उल्लेख गरेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक प्रयोग गर्दै प्रस्तुत गरिएको आर्थिक सर्वेक्षणले उर्जामा ६.३ प्रतिशत, लघुघरेलु, साना तथा मझौला उद्यमका क्षेत्रमा ९.५ प्रतिशत कर्जा लगानी भएको सर्वेक्षणमा उल्लेख छ । विकास बैंकहरूले पनि प्राथमिकता प्राप्त क्षेत्रमा एक खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । आर्थिक सर्वेक्षणमा बैंकहरूको खराब कर्जा बढेको उल्लेख गरिएको छ ।
प्राथमिक बजारमार्फत् ४१ अर्ब ४६ करोड पुँजी परिचालन
आर्थिक सर्वेक्षणले चालु आवको फागनुसम्म प्राथमिक बजारमार्फत् ४१ अर्ब ४६ करोड बजारबरको पुँजी परिचालन भएको जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो । यस अवधिमा साधारण सेयरको प्राथमिक निष्काशनमार्फत् पाँच अर्ब ७६ करोड, हकप्रद सेयर निष्काशनमार्फत् ९५ करोड, ऋणपत्रमार्फत् २७ अर्ब र म्युचुअल फन्डमार्फत् सात अर्ब ७५ करोड रुपैयाँ पुँजी परिचालन भएको छ ।