डलर सञ्चितिमा १५ प्रतिशतको सुधार

चालू आर्थिक वर्षको सुरुवातदेखि फागुन मसान्तसम्ममा वैदेशिक विनिमय सञ्चितिमा १५.२ प्रतिशतको सुधार देखिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा आइतबार प्रस्तुत गरेको आर्थिक सर्वेक्षणले असारको तुलनामा फागुन मसान्तमा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढ्दै १४ खर्ब एक अर्ब २१ करोड रुपैयाँ पुगेको जनाएका हुन् ।
असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारमा नौ अर्ब ५४ करोड रहेकोमा गत फागुनमा १२.१ प्रतिशतले बढ्दै १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । चालु आवको फागुनसम्ममा शोधानान्तर स्थिति एक खर्ब ४८ अर्ब ११ करोड रुपैयाँले बचतमा छ ।
गत आवको सोही अवधिमा शोधानान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो । चालु आवको फागुनसम्ममा विप्रेशष आप्रवाह २५.३ प्रतिशतले बढेको छ । फागुनसम्म रेमिट्यान्स सात खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको सर्वेक्षणले देखाएको छ । गत आवको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो ।