Logo

बैंक ब्याजदर घट्दो क्रममा

नेपाल बैंकर्स संघ (एनबीए)का अध्यक्ष सुनिल केसीले पछिल्लो समय बैंकको ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् । सोमबार पत्रकारहरूसँगको अन्तक्र्रियामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले ब्याजदर घट्दो क्रममा रहेको बताएका हुन् । गत पुसमा १०.९१ प्रतिशत पुगेको बैंकको आधार दर चैतमा १०.४८ प्रतिशत घटेको थियो ।

वैशाखमा भने आधारदर १०.२७ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले अबदेखि हरेक महिना तीन/तीन महिनाको औसत आधार दर लिएर कर्जाको ब्याजदर तोक्न सक्ने व्यवस्था गरेको छ । वैशाखमा यस्तो औसत आधार दर १०.४६ प्रतिशत रहेको छ । ‘‘जेठमा कर्जाको ब्याजदर वैशाखको भन्दा ०.२० देखि ०.२५ प्रतिशत विन्दुले घट्नेछ’’ संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले भने ।

गत चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर जेठमा आउँदा करिब १२.४० प्रतिशत हाराहारीमा रहने आकलन गरिएको छ । माघमा कर्जाको ब्याजदर १३.०३ प्रतिशतसम्म थियो । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार, हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औषत ब्याजदर अन्तर (स्प्रेड दर) असारदेखि ४ प्रतिशत कायम गर्नुपर्नेछ । स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न बैंकहरूले ब्याजदर थप घटाउने अध्यक्ष केसीको भनाइ छ । उनले भने,“स्प्रेड दर चार प्रतिशत कायम गर्नुपर्ने छ । त्यसबाट पनि असारपछि ब्याजदर थप घट्छ ।”

अध्यक्ष केसीले पछिल्लो समय बैंकमा तरलता सहज हुँदै गएको बताए । उनले निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता सहज हुँदै गएको उल्लेख गरे । उनले चालु आवमा केन्द्रीय बैंकले लिएको १३ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पूरा नहुने बताए । “अहिलेसम्मको कर्जा विस्तार हेर्दा आगामी दुई महिनामा १.५ खर्ब कर्जा विस्तार हुने र समग्रमा गत वर्षभन्दा छ प्रतिशतले कर्जा बढ्ने देखिन्छ,” उनले भने,“राष्ट्र बैंकले लिएको १३ प्रतिशतको लक्ष्यको आधामात्रै कर्जा विस्तार हुने अवस्था देखिन्छ ।”

सरकारले आगामी दिनमा ठूलो परिणाममा आन्तरिक ऋण लियो भने बैंकिङ क्षेत्रमा दबाव पर्न सक्ने भन्दै उनले सरकारले बाह्य स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए । वित्तीय स्रोतको अभाव भएकाले अहिले पनि आन्तरिक ऋणको ब्याजदर ९ प्रतिशतभन्दा माथि रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको अध्यक्ष केसीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थाको लागत बढ्दा नाफा पनि घट्दो क्रममा रहेको बताए ।

त्यस्तै चालु पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ । कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले खराब कर्जा बढेपनि नेपालका बैंकहरू बलियो अवस्थामा रहेको बताए । उनले भने,“आगामी दिनमा हामी सचेत भएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा हामी छौँ । तर, ठूलै जोखिमको अवस्थामा भने छैनौँ ।”

उनले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुँदै जाने दिशामा रहेको समेत उल्लेख गरे । यता संघका प्रमुख कार्यकारी अधिृकत शर्माले विश्व परिवेशमा ब्याजदर बढ्ने दिशामै रहेको उल्लेख गरे । उनले बैंकहरूको खराब कर्जाको अवस्था अव विस्तारै घट्ने अपेक्षा गरेको बताए । उनले भने,“खराब कर्जा बढ्दो क्रममा रहेको छ । तर यसमा पनि अब विस्तारै ब्रेक लाग्छ भन्ने अपेक्षा छ ।”उनले बैंकहरूको खराब कर्जा बढ्दा नाफा घटेको र आयकर पनि कम तिरेको सुनाए ।

हकप्रद जारी गर्ने अनुमति दिन लबिङ

बैंकरहरूले कम प्राथमिक पुँजी भएका बैंकहरूलाई हकप्रद जारी गर्न सक्ने व्यवस्था गरिदिनुपर्ने बताएका छन् । “जुन बैंकहरूको प्राथमिक पुँजी कम छ, त्यस्ता बैंकले हकप्रद जारी गर्न या पुँजीमा गणना हुने ऋणपत्र जारी गर्ने व्यवस्था गरिदिन राष्ट्र बैंकसँग कुरा गरिरहेका छौँ,” संघका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले भने ।

पुससम्मको तथ्यांक अनुसार, एक दर्जन वाणिज्य बैंकको जोखिम सम्पत्तिको आधारमा प्राथमिक पुँजी अनुपात राष्ट्र बैंकले तोकेको सीमा नजिक रहेको छ । यसमध्ये आठवटाको यस्तो अनुपात करिब ९ प्रतिशत र बाँकी चार वटाको ९ प्रतिशतभन्दा कम रहेको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार यो अनुपात कम्तिमा ८.५ प्रतिशत हुनुपर्छ । सोही कारण बैंकहरूले कर्जा लगानी बढाउन सकेका छैनन् ।

थप कर्जा लगानी गर्दा यो अनुपात झनै घट्ने भएपछि बैंकरहरूले हकप्रद वा पुँजीमा गणना हुने ऋणपत्र जारी गर्ने सुविधा माग गरेका हुन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत राणाले राष्ट्र बैंकसँग बैंकरहरूले यस्तो सुविधा मागिरहेको जानकारी दिए । संघका अध्यक्ष केसीका अनुसार, हकप्रद प्रस्तावमा राष्ट्र बैंकले अनिच्छा देखाएको छ । उनले भने,“हकप्रदको प्रस्ताव राष्ट्र बैंकले मानिरहेको छैन । तर, कुनै न कुनै विकल्प त दिनैपर्ने अवस्था छ ।”

प्रतिक्रिया दिनुहोस्