पर्यटकको संख्या बढाउने कि गुणस्तर ?

पर्यटकको संख्या बढे पनि यस क्षेत्रबाट हुने आर्जनमा वृद्धि हुन नसक्नु साँच्ची नै चिन्तालाग्दो विषय हो ।
सरकारले आउँदो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने मूल उद्देश्य राखेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउँदैछ । गत वर्ष अर्थात् सन् २०१८ मा झन्डै १२ लाख पर्यटक नेपाल आएपछि सरकार केही उत्साहित भएको हुनुपर्छ, तर आजसम्म सरकारको कमजोर तयारीले पर्यटन व्यवसायीहरूले भ्रमण वर्ष सफल हुनेमा नै आशंका व्यक्त गर्न थालेका छन् । केही समयअघि नेपाल पर्यटन बोर्डले गरेको एक अध्ययनअनुसार नेपालमा वार्षिक ५ लाख भारतीय पर्यटक स्थलमार्गबाट नेपाल भित्रिने गरेका छन् । यदि यो आँकडालाई समेत जोड्ने हो भने अहिले नै नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १७ लाखको हाराहारीमा पुगिसकेको छ । स्थलमार्ग हुँदै नेपाल आउने धेरैजसो भारतीय पर्यटक त अभिलेखित नै हुँदैनन्, सोही कारण भारतीय पर्यटकको संख्या योभन्दा बढी भएको अनुमान गरिएको छ । यद्यपि, पर्यटकहरूको औसत बसाइ अवधि र खर्चको अनुपात नबढ्नाले संख्यात्मक रूपमा पर्यटकहरू बढ्नु मात्रको के औचित्य भन्ने प्रश्न उब्जन्छ । अहिले नेपालमा पर्यटकले गर्ने खर्च औसत ४४ अमेरिकी डलरमा सीमित छ भने बसाइ अवधि पनि १३ दिनभन्दा कम छ । पर्यटनबाट हुने आम्दानी थोरैले बढेको भए पनि त्यसको समग्र प्रभाव निकै कम छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७५÷७६ को पहिलो ११ महिनामा नेपालले पर्यटनबाट ६८ अर्ब ६३ करोड रुपैयाँ (६० करोड ६० लाख अमेरिकी डलर) आर्जन गरेको छ, यो गत वर्षको कुल आयभन्दा पनि करिब डेढ अर्ब बढी हो । यसमा असारको तथ्यांक जोडिन बाँकी छ ।
जनवरीदेखि मेसम्म पाँच महिनाको अवधिमा पर्यटक आगमन पनि ५ लाख १६ हजार पुगेको छ । यसलाई पर्यटनसम्बद्ध अधिकारीहरूले उत्साहजनक मानेका छन् । पर्यटकको संख्या बढे पनि यस क्षेत्रबाट हुने आर्जनमा वृद्धि हुन नसक्नु साँच्ची नै चिन्तालाग्दो विषय हो । नेपालमा अहिले दुई खाले पर्यटकहरूको बाहुल्यता देखिन्छ, पहिलो भारतबाट बसमा आफ्नो रासनपानीसमेत बोकेर आउने र अर्को पश्चिमा मुलुकहरूबाट ‘ब्याकप्याक’ भनिने कम खर्चालु । ‘ब्यागप्याक पर्यटक’मा पनि दुई किसिमका हुने गरेको पाइएको छ, पहिलो स्रोत मुलुकबाटै सस्ता गन्तव्यहरू खोजेर, सस्ता (इकोनोमिक) वायुसेवाहरूमा आउने र अर्का भारतसहितका छिमेकी मुलुकको भ्रमण गरिसकेर खर्च कम भएपछि नेपाल छिर्ने ।
यस्ता किसिमका कम खर्चालु पर्यटकको संख्या जतिसुकै बढे पनि त्यसबाट मुलुकको पर्यटन क्षेत्रको खासै उन्नति हुन सक्दैन । अहिले नेपालमा अन्तर्राष्ट्रिय चेन होटलहरूले समेत आफ्नो शाखा खोल्दैछन् । अर्बौंको लगानीमा खुलिरहेका नयाँ–नयाँ पाँचतारे र पर्यटकीय स्तरका होटलहरूले सस्तो दाममा आफ्ना कोठा बेच्नुपरेपछि तिनको लगानीको प्रतिफल कसरी प्राप्त होला भन्ने सोच्नु पर्ने बेला भइसकेको छ । पर्यटनको कुरा गर्दा त्यसको अग्र र पृष्ठसम्बन्धलाई बिर्सन मिल्दैन । पर्यटनको लाभ तल्लो तहका जनतासम्म पु¥याउनका लागि यसको विविधीकरण अपरिहार्य छ भने पर्यटनबाट हुने आयमा समेत वृद्धि हुनु आवश्यक रहन्छ । सीमित गन्तव्य र उत्पादनमा केन्द्रित रहेको नेपालको पर्यटन क्षेत्रलाई बढीभन्दा बढी विविधीकरण गरेर पर्यटकहरूले यहाँ बढी खर्च गर्ने वातावरण बनाउनु जरुरी छ । देशले पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बेला पर्यटन मन्त्रालय नेतृत्वविहीन छ । प्रधानमन्त्री आफैंले सबैतिर हेर्न पनि भ्याउँदैनन् । त्यसैले यस्तो रिक्ततासमेत बेलैमा पूर्ति गरेर सही पर्यटन बजारीकरणका रणनीति बनाउनु अत्यावश्यक भइसकेको छ ।