Logo

गौतमबुद्ध विमानस्थलको एक वर्ष: अन्तर्राष्ट्रिय उडान शून्यमा झर्‍याे

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भई सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक व्यवस्थापकीय, प्रशासकीय तथा प्राविधिक तयारी पर्याप्त नहुँदा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको एक वर्षमै उडानहरु शून्यमा झरेको छ ।

गत वर्ष उद्घाटनको दिन देखिनै अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एअरवेजले समेत अहिले उडान बन्द गरे पछि यहाँबाट अन्तर्राष्ट्रिय स्तरमा सबै उडान अवतरण शून्य छ । जजिरा एअरवेजले सुरुमा हप्ताको तीन दिन, त्यसपछि केही समय हप्ताको सातै दिन र पछि हप्ताको तीन दिन कुबेत भैरहवा कुबेत रुटमा निरन्तर उडान गर्दै आएको थियो ।

“हामीले सुरुवात देखिनै निरन्तर उडान गर्दै आयौ तर बिचमा केही महिना प्राविधिक कारणले उडान गर्न सकेनौ, मार्च अप्रिलमा पुनः उडान सुरु गरेका थियौ, अहिले कम्पनीले भैरहवाबाट उडान नगर्ने भनेपछि बन्द रहेको छ, फेरी कहिले उडान सुरु हुन्छ थाहा छैन, हेड अफिसले निर्णय गरेपछि फेरी उडान सुरु होला” जजिरा एअरवेजका नेपाल कन्ट्रि डाईरेक्टर अमित नागरथले भने ।

गौतमबुद्ध विमानस्थल नागरिक उड्यन प्राधिकरण कार्यालय भैरहवाका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार जजिरा एअरवेजले अन्तिम पटक १९ अप्रिलमा उडान गरेपछि ८ मेसम्मका लागि उडान स्थगितको पत्र पठाएको थियो । पछि पुनः ९ मेमा कार्यालयलाई अर्को सूचना नगरेसम्मको लागि स्थगितको भएको पत्र पठाएको थियो ।

महाप्रबन्धक पाण्डेका अनुसार नेपाल एयरलाइन्सको जेठ महिनादेखि क्वालालम्पुर, दिल्लीको उडान हुन सक्ने सम्भावना बढेको छ । नेपाल एयरलाइन्सले भैरहवाबाट समर सेडुल राखीसकेको छ, तर अपरेटिङ तालिका राखेको छैन, दिल्लीमा स्लट प्राप्त गरिसकेको र अन्य मुलुकमा रुटको कुराकानी भैरहेकोले पनि भैरहवाबाट यही महिनामा क्वालालम्पुर र दिल्ली उडान सुरु हुने उनी बताउँछन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विमानस्थलकै कारण यो क्षेत्रमा पर्यटन तर्फ अरबौं लगानी भएको भन्दै विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआए लगानी असुरक्षित हुने बताए । विमानस्थलमा देखिएका रुट, आईएलएस उपकरण सञ्चालन सहमति लगायतका भारतसँग जोडिएका प्राविधिक समस्या प्रधानमन्त्रीको छिटै हुने भारत भ्रमणका क्रममा समाधान गरिनुपर्नेमा उनले जोड दिए ।

सिद्धार्थ होटल संघ नेपाल (शान)का अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएसँगै भैरहवा, लुम्बिनी, बुटवल तिलोत्तमा क्षेत्रमा पर्यटकीयदेखि पाँच तारे होटल निर्माण तीव्र गतिमा भैरहेको र केही सञ्चालनमा समेत आइसकेको बताए । श्रेष्ठले यस क्षेत्रका होटलहरू दैनिक १० हजार जनालाई बास बसाउन सक्षम रहेको जिकिर गरे ।

श्रेष्ठका अनुसार रुपन्देहीको होटल क्षेत्रमा ७५ अर्बभन्दा बढीको लगानी रहेको छ । “विमानस्थललाई नै लक्षित गरी गरिएका अरबौं लगानी अहिले विमानस्थल सञ्चालनमा नआउँदा जोखिममा परेको छ । ‘व्यवसायीहरूमा बैंकको ब्याज तिर्न नसकेर मानसिक तनाव बढ्दै गएको छ, केही होटलहरु त बैंकले आफ्नो नाममा समेत गरेका छन्” श्रेष्ठले भने । लुम्बिनी होटल एशोसियसनका अध्यक्ष गोबिन्द ज्ञवालीले सरकारले पर्याप्त पहल नगरेका कारण विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान अहिले शून्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्