Logo

खानेपानीको मुहानमै ड्याम बनाउने तयारी

खानेपानीको स्रोत संरक्षणका लागि मुहानमा ड्याम बनाउने तयारी सुरु भएको छ । पछिल्लो समय उपत्यकामा वितरण हुने खानेपानीको स्रोत सुक्न सक्ने खतरालाई रोक्न त्यस्ता खानेपानीका स्रोतहरुको संरक्षण गर्न मुहानमै ड्याम बनाउने तयारी थालिएको हो ।

काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पुराना खानेपानीको मुहान संरक्षण गर्न नसकेमा भावी दिनहरुमा खानेपानी जोखिम बढ्दै जाने भन्दै ड्याम निर्माणका लागि छलफल अगाडि बढाएको छ । केयुकेयलका अनुसार ड्याम निर्माण गर्दा खानेपानी रिचार्ज हुने र पानीको स्रोत सुनिश्चित हुने भएकाले खानेपानीको मुहानमा ड्याम निर्माण गर्ने योजना रहेको छ ।

केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले खानेपानीको दिगो संरक्षण र आपूर्ती व्यवस्थापनलाई सहज तुल्याउन मुहानमा नै साना साना ड्याम बनाउने गरी योजना बनाइने बताएका छन् । “उपत्यकामा वितरण हुने खानेपानीका ३४ वटा स्रोतहरु छन्, विभिन्न कारणले खानेपानीको स्रोत संरक्षणमा चुनौती छ, यदी स्रोत नै संरक्षण भएन भने उपत्यकामा बढ्दो खानेपानीको माग अनुसारको पानी वितरणमा सहज हुँदैन,” उनले भने, “मेलम्ची खानेपानी आयोजना पनि कहिले बन्द गर्नुपनेृ अवस्था छ, ठूलो विपत आउने अवस्था भयो भने पनि खानेपानी बन्द गर्नुपर्न अवस्था आउने छ, यसकारण अन्य पुरानो खानेपानीको स्रोत व्यवस्थापनको कार्यलाई पनि सँगसँगै लानुपर्ने हुन्छ ।”

उनका अनुसार काठमाडौं उपत्यकामा केयूकेएलका १ लाख ६० हजार घरधुरी ग्राहक छन् । शाक्यले अहिले भने तत्कालको खानेपानी आवश्यकतालाई पुरा गर्नका लागि बागमती ड्यामबाट गरी ६ करोड लिटर पानी थप गर्ने तयारी भएको बताएका छन् । “तत्कालका लागि ६ करोड लिटर पानी दैनिक वितरण गर्ने गरी थप गर्ने योजना छ, तर बागमती डाप ड्यामको ६ करोड लिटर भने अलिकति पानी पर्न सुरु भएपछि मात्रै सम्भव छ,” उनले भने, “सिस्नेरीबाट थप १२ करोड लिटर दैनिक आपूर्ती गर्ने खानेपानी थप गर्ने योजना सहित डिपिआरलाई अगाडि बढाएर दिर्घकालिन योजना अगाडि बढाएका छौं ।”

भूगर्भविद् डा. सुवोध ढकालले पहिरोका कारण धेरै ठाउँमा पानीको स्रोतहरु नास हुने भएकाले पहिरो व्यवस्थापनमा पनि सहज हुनुपर्ने सुझाव दिएका छन् । “पहिरोका कारण कुनै स्थानमा धमिलो पानि आउने, अर्को कुरा पानीको स्रोतहरु नास हुने घटनाहरु बढि छ, मनसुनमा मुलहरु राम्रोसँग फुट्ने छन् ,” उनले थपे, “ मनसुन अवधिमा मुलहरु फुट्ने भए पनि त्यसको व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ , यसकारण रिचार्ज सिस्टमका लागि पोखरी बनाउने ड्याम बनाउने कार्य पनि उपयुक्त हन्छ, पानीको स्रोत सुक्नबाट बचाउन ।”

विकासको नाममा हुने बिनासका कारण पछिल्लो समय खानेपानीका मुहानको संरक्षणमा पनि चुनौती थपिएको भन्दै उनले वातावरणमैत्री विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्