Logo

ठगी धन्दामा सत्ताको दुरुपयोग

नेपाली युवालाई गैरकानुनी रूपमा भुटानी शरणार्थीका नामबाट अमेरिका लैजाने धन्दामा बहालवाला मन्त्री र सचिवसमेत मुछिएको घटनाले मुलुकमा भ्रष्टाचार कुन तहसम्म र कसरी मौलाउँदै गएको छ भन्ने देखाएको छ । राजनीतिक दलका उच्च नेताहरू प्रधानमन्त्री बन्नेबित्तिकै भ्रष्टाचारमा शून्य सहनशीलताको भाषण गरेर थाक्दैनन् । तर, उनीहरूकै क्याबिनेटभित्र सबैभन्दा ठूला भ्रष्टाचारीहरू रहेको कहिल्यै देख्दैनन् ।

पछिल्लो समय देखिएको भुटानी शरणार्थी प्रकरणले मुलुकभर भ्रष्टाचारको स्वरूप कस्तो छ भन्ने छर्लङ्ग पारेको छ । सरकारले विदेशी मुलुक र अन्य निकायहरूको सहयोगमा नेपालमा बसेका धेरैजसो भुटानी शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गरिसकेको छ । यही क्रममा अमेरिकाले पनि धेरै भुटानी शरणार्थी लगेको छ । अझ केही शरणार्थी नेपालमा नै छन् । पुनर्वासमा छुटेका शरणार्थीलाई स्थायी रूपमा समाधान गर्ने प्रयास धेरै पटक भएका छन् ।

यसै क्रममा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा भुटानी शरणार्थी समस्या समाधानको स्थायी उपाय खोज्न गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । त्यसपछि नक्कली भुटानी शरणार्थी बनाउने खेल सुरु भएको थियो । पन्थीको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

तर, यही कार्यदलका सदस्य गणेश केसीसहित सत्ताको पहुँचमा रहेका व्यक्तिहरूले सक्कली शरणार्थीसँगै नक्कली शरणार्थीको नाम थपेर अमेरिका पठाउने अभियान चलाएको देखिन्छ । कार्यदलले काम गरिरहेकै बेला राजनीतिक संरक्षण प्राप्त गिरोहले शरणार्थीको सूचीमा ‘छुटेका शरणार्थी’ र ‘तेस्रो देशमा शरण लिन चाहने’ शीर्षकमा उपसूची थप गरेको थियो । यसमा झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका ८ सय ७५ जना नक्कली शरणार्थीको नाम राखिएको थियो ।

यो सूचीमा नाम राख्न ८ सय ७५ नेपालीबाट १० देखि ५० लाखसम्म उठाएको फेला परेको छ । नेपाली मिडियाले यो प्रकरण उदांगो बनाएपछि अहिले ठगी गर्ने गिरोहका सदस्यहरू र यसमा सहयोग गर्ने राजनीतिक तथा प्रशासनिक नेतृत्वलाई कानुनी दायरामा तानिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, उपराष्ट्रपति कार्यालयका अहिलेका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेका छन् ।

तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी सम्पर्कविहीन अवस्थामा छन् । उनका छोरा सन्दीप रायमाझीलाई बुधबार साँझ प्रहरीले बुटवलबाट नियन्त्रणमा लिएको छ । यो प्रकरणमा संलग्न गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ राईसहित हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ ।

केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको छ । यो प्रकरण जिल्ला प्रहरी परिसर काठमाडौंले हेरिरहेको छ । विभिन्न जिल्लाबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १ सय ६ जनाले २० वटा उजुरी दिएका छन् । उजुरीकर्ताले कुल २३ करोड २५ लाख ठगी गरेको आरोप लगाएका छन् । यसमा धेरैको संख्यामा पीडित भएको अनुमान गरिएको छ । नक्कली शरणार्थी बनाउने गिरोहको ठगी धन्दाबारेमा पहिलो पटक गत जेठमा अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको थियो ।

प्रहरीले पक्राउ परेका गिरोहका समूहबाट सन्दीपका नाममा काटेको चेकसमेत बरामद गरिसकेको छ । करिब साढे तीन वर्ष अघिदेखि चलेको यो ठगी धन्दा बहालवाला मन्त्री, सचिव र सत्तासँग पहुँचमा रहेका व्यक्तिहरूको मिलेमतोमा भएको स्पष्ट भइसकेको छ । यो प्रकरणमा कसको कति दोष छ र कति रकम ठगी गरिएको छ भन्ने विषय अनुसन्धानपछि खुल्ने नै छ । तर, सत्ताको तालाचाबी लिएका, देशको मन्त्री र सचिवजस्तो पदमा बस्नेहरूले नै ठगी धन्दा गर्न थालेपछि कसलाई विश्वास गर्ने भन्ने प्रश्न खडा भएको छ ।

पछिल्ला वर्षहरूमा स्वदेशमा रोजगारी नपाएपछि सर्वसाधारण नागरिक विदेश जानुको विकल्प छैन । आफ्नो र परिवारको गुजारा चलाउन अधिकांश नेपाली खाडी, मलेसियाजस्ता मुलुकहरूमा गइरहेका छन् । कोभिड–१९ महामारीपछिका दुई वर्षलाई हेर्दा दैनिक औसत २ हजारको संख्यामा विदेश गएका देखिन्छन् । स्वदेशमा रोजगारी नपाएको र बिदेसिनु बाध्य भएको पृष्ठभूमिमा सरकारमा बस्नेहरूले पनि ठगी धन्दा चलाउन सफल भएको देखिन्छ ।

त्यसै त नेपालीहरूमा विदेशी मोह धेरै छ, त्यसमा पनि अमेरिका भनेपछि ज्यानै जोखिममा पारेर जानेहरू धेरै छन् । पचासौं लाख खर्च गरी विभिन्न मुलुक हुँदै ६ महिनाभन्दा धेरै समय लगाएर अमेरिका पुग्नेहरू छन् भने यही बाटोमा मृत्युवरण गर्नेहरू पनि छन् । नेपाली युवाको अमेरिकाप्रतिको यही मोहलाई सत्तामा पहुँच पुग्नेहरूले ‘क्यास’ गरेको देखिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल साँच्चिकै भ्रष्टाचारमा शून्य सहनशीलता चाहन्छन् भने यो प्रकरणमा मुछिने सबैलाई कठघरामा पुर्‍याउन सक्नुपर्छ । अहिले पक्राउ पुर्जी जारी भएका टोपबहादुर रायमाझी उनकै पुराना कार्यकर्ता हुन् । यो प्रकरण तानिँदै जाँदा भोलि आफ्नै पार्टीका उच्च नेता तथा कार्यकर्ताहरू पनि पर्न सक्छन् ।

त्यस बेला प्रधानमन्त्री दाहालले खुट्टा कमाउने, अनुसन्धानको बहाना गरेर यसलाई त्यसै अडकाएर राख्नु हुँदैन । यो प्रकरणलाई कस्तो नतिजामा पुर्‍याउने भन्ने हात दाहालकै छ । सबैको नजर अहिले दाहालमाथि छ । त्यसैले अहिले यो प्रकरणलाई कसरी अगाडि लैजाने भन्ने सर्वसाधारणको अग्नि परीक्षणमा दाहाल छन् ।

प्रतिक्रिया दिनुहोस्